कञ्चनपुर : परराष्ट्रमन्त्री एनपी साउदले कैलालीको फाप्ला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने तयारी भइरहेको बताएका छन्।
आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरस्थित खुलामञ्चमा तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साउदले खेल क्षेत्रले देशलाई विश्वमाझ चिनाउने काम गरेको बताए। उनले सरकारले खेल पूर्वाधार निर्माणमा समेत क्रमश: लगानी बढाउँदै लगेको दाबी गरे।
‘फाप्ला स्टेडियमलाई गौरवको आयोजना घोषणा गर्दैछौँ । त्यसका लागि प्रक्रियागत कुरा अगाडि बढेको छ,’ उनले भने, ‘खेलकूदले देशलाई विश्वमाझ चिनाउँछ । पूर्वाधार निर्माणमा सरकारको प्राथमिकतामा छ।’
उनले नेपालको क्रिकेट खेल अभ्यासका लागि भारतले स्टेडियम उपलब्ध गराउने प्रतिवद्धता जनाएको समेत बताए। जसबाट नेपाली क्रिकेट खेलाडीलाई अभ्यासमा सघाउ पुग्ने उनको भनाइ छ।