धनगढी : धनगढी उपमहानगरपालिकाले गत साउनमा १९ वटै वडा कार्यालयलाई लेखापढी गर्ने व्यक्ति हटाउन भन्दै दिएको निर्देशनको वेवास्ता गरिएको पाइएको छ ।
उपमहानगरपालिकाको परिपत्रअनुसार धेरै वडाले लेखापढी गर्ने व्यक्तिलाई कामबाट हटाएपनि केहीले अझै काममै राखेको पाइएको हो । धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा २०७८ सालदेखि लेखापढी गर्दै आएका रामदयाल राना अहिले पनि काम गरिरहेका छन् ।
उनलाई वडा कार्यालयले अझै हटाएको छैन । राना वडा कार्यालयभित्रै बसेर काम गर्दै आएका छन् । उनले वडा कार्यालयले भर्नुपर्ने सरकारी फारम भरिदिएवापत सेवाग्राहीबाट १० देखि २० रुपैयाँसम्म शुल्क लिदै आएका छन् । जबकी त्यस्तो फारम भर्न कर्मचारीले समेत सहजीकरण गर्न सक्छन् ।
रानाले हटाउन उपमहानगरपालिकाले परिपत्र गरेको कुरा थाहा भएको बताए तर वडा कार्यालयकै अनुरोध अनुसार काम गरिरहेको उनी बताउँछन् ।
वडाध्यक्ष जुगराम चौधरीले लेखापढी गर्ने व्यक्तिलाई वडा कार्यालयले नराखेको बताउँदै सेवाग्राहीको आग्रहअनुसार सहयोग गर्दैै आएको दाबी गरे ।