काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शक्ति केन्द्रको मान्छे पक्राउ परेमा अनावश्यक दबाब आउने गरेको गरेको गुनासो गरेका छन्।
पोखरामा आजदेखि शुरु भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो गुनासो गरेका हुन्।
‘कोही राजनीतिक पृष्ठभूमिको पर्यो भने हाम्रो पार्टीको हो, गठबन्धनको हो, प्रतिपक्षको हो भनेर कराउन थाल्छन्। कर्मचारी पक्राउ परे भने कर्मचारी उफ्रिन्छन्’, उनले भने, ‘उद्योगीलाई पक्र्यो भने व्यापारीहरू उफ्रिन्छन्। तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट छैन। जालसाजी गर्ने ठग्ने छुट दिन सकिँदैन।’
यसैबीच, गृहमन्त्री श्रेष्ठले अपराधमा संलग्नलाई पक्राउ गर्दा अप्ठेरो पार्न खोजे सरकार छोड्ने संकेत गरेका छन्।
‘यस प्रकारको हामीलाई दबाब भइरह्यो भने हामी हाम्रो दिशा फेर्न सक्छौँ’, उनले भने, ‘कर्मचारी र सुरक्षा निकायले आफ्नो अडानमा दृढतापूर्वक उभिनुपर्छ।’
हिजोमात्रै बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले व्यवसायी अरुण चौधरी र कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो।
कांग्रेस सांसद विनोद चौधरीका कान्छा भाइ अरुण पक्राउ परेकोप्रति कांग्रेस नेताहरु असन्तुष्ट रहेको चर्चा भइरहँदा गृहमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो।
यसअघि नक्कली भूटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणलाई पक्राउ गर्दा पनि कांग्रेस सभापति गृहमन्त्री श्रेष्ठसँग असन्तुष्ट रहेको चर्चा थियो।
उनले सुशासनका पक्षमा सरकारले चालेको कदम नरोकिने प्रष्ट पारेका छन्।
पोखरामा आजदेखि शुरु भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले नेता, कर्मचारी उद्योगी जो भएपनि गल्ती गर्नेलाई सरकारले कारबाही गर्ने प्रतिबद्धता गरेका हुन्।
राज्यविरुद्धका कुनै पनि अपराधमा कसैलाई छुट दिन नसकिने उनको प्रश्टोक्ति छ।
‘कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न। कसैलाई पनि जालसाजी गरेर ठग्ने छुट दिन सकिन्न’, गृहमन्त्री श्रेष्ठले भने, ‘अपराधको काममा, ठगीको काममा, जालसाजीमा, लुटमा संलग्न कसैले पनि उन्मुक्ति पाउन सक्दैनन्।’
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ गृहमन्त्री भएपछि ठूला भ्रष्टाचारका फाइल खुलिरहेका छन्। गठबन्धन पार्टीकै नेताहरु समेत भ्रष्टाचारका काण्डमा पक्राउ परिरहेका छन्।