कैलाली : अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भएको नक्कली टिकट बिक्रि प्रकरणमा चार जनाले कैलाली प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
महोत्सवमा नक्कली टिकट बिक्रि गरेर आर्थिक हिनामिना गरेको आरोपमा अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का, सचिव दिलिपकुमार साउँद, सदस्य बमबहादुर बोगटी र भुवन महराले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।
कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए ।
नक्कली टिकट बिक्रि प्रकरणमा अध्यक्षसहितका १२ जना पदाधिकारीले सुरुरुमा साउँद र महराकाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर, संघका अध्यक्ष कल्याणसिंह बोहराले भोलिपल्ट महासचिव खड्का र बोगटीकाविरुद्ध पनि किटानी जाहेरी दिएका थिए । उनले घटनालाई सेफ ल्यान्डिङ गर्न अर्को किटानी जाहेरी दिनुपरेको महासचिवलाई भनेको अडियो समेत बाहिरिएको थियो ।
यो प्रकरणमा जोडिएका संघका सचिव दिलिपकुमार साउँद गोदावरी नगरपालिकाका मेयरका स्वकीय सचिव समेत हुन् तर घटनामा मुछिएपछि भने मेयरको सचिवालयले उनलाई हटाएको छ ।
संघले साउँदलाई टिकट व्यवस्थापनको जिम्मा दिएको थियो भने दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराले बिक्रि गर्ने गरेका थिए ।