धनगढी : स्थगित भएको नेकपा एमाले बझाङ जिल्लाको अधिवेशनको मिति फेरि तोकिएको छ । आज बसेको जिल्ला कमिटिको बैठ्कले आगामी फागुन १ र २ गते झोतामा गर्ने निर्णय गरेको हो ।
माघ १९ र २० गते हुने भनिएको आठौँ जिल्ला अधिवेशन अन्तिम अवस्थामा नेताहरुले स्थगित गरेका थिए । माघ १८ गते सामान्य बर्षाभएपछि नेताहरुले मौसम प्रतिकुल भएको कारण भन्दै अधिवेशन स्थगित गरेका थिए । तर उनिहरुले गरेको निर्णय आलोकाँचो साबित भएको छ ।
माघ १९ र २० गते अर्थात हिजो र आज मौसममा कुनै खराबी देखीएन्, दिनभर मौसम सफा रह्यो । जसको कारण नेताहरुले सामाजिक सञ्जालमा निकै आलोचना खेप्नु पर्यो ।
नेताहरुले गरेको अपरिपक्क निर्णयलाई कतिपय नेता तथा कार्यकर्ताहरुले गैरजिम्मेवारीपनको समेत आरोप लगाएका छन् ।
तयारीको अन्तिम अवस्थामा पुगेको अधिवेशन रातारात स्थगित गरेर जिल्ला इन्र्चाज राजेन्द्र रावल सहितका नेताहरु दोस्रो दिन हिउँ खेल्दै धनगढी फर्किएका थिए ।
जिल्लाका सबै नेता कार्यकर्ताहरु अधिवेशनको लागि झोता पुगिसकेका र तयारीको अन्तिम अवस्थामा पुगेको अधिवेशन स्थगित गरेपछि जिल्ला इन्चार्जलाई कतिपयले भागेको समेत आरोप लगाएका थिए ।
इन्चार्जले पार्टीलाई अनिर्णयको बन्दी बनाउन खोजेको आशंका गरेका छन् ।