धनगढी: नेकपा (एकीकृत समाजवादी) का पार्टी जिल्ला सचिवको अवैध धन्दाको पाटो खुलेको छ। महेन्द्रनगरपोष्टडटकमको खोजबिनबाट माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा (एस) बैतडीका जिल्ला सचिवसमेत रहेका शेरबहादुर चन्दको अवैध धन्दा उजागर भएको हो।
चन्दले बैतडीमा सुदूरपश्चिम प्रदेश सरकार र केन्द्र सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा आफ्नो सेटिङ रहेको भन्दै असुली गरिरहेको खुलेको हो। चन्दले विकास निर्माणका योजना हालिदिन्छु भन्दै रकम उठाउने गरेको पाइएको हो। चन्दले बैतडीको मेलौली, शिवनाथ लगायतका क्षेत्रमा योजना हालिदिने र त्यसका लागि अग्रिम १० प्रतिशत रकम कमिसन मन्त्री र कर्मचारीलाई बुझाउनुपर्ने भन्दै आतंक मच्चाएको स्थानीयहरुले बताएका छन्।
चन्दले माघ महिनाको सुरुदेखि नै सुदूरपश्चिम सरकारको डल्लो बजेटबाट योजना दिलाउने भन्दै यो ठगी धन्दा थालेको बुझिएको छ। मेलौली नगरपालिका-२ स्थायी घर भएका चन्दले मेलौलीका केही स्थानीयबाट त योजना हाल्ने भन्दै पैसा उठाएर गायब भएको बताइएको छ।
सोही क्रममा शिवनाथ गाउँपालिका-४ मा ३० लाखको योजना हालिदिन्छु १० प्रतिशत अग्रिम दिनुपर्छ भन्दै स्थानीय परमल महताबाट केही रकम समेत लिएको भेटिएको छ। परमलका भाइ जय महताले आफूले सुरुमा डील भएअनुसार १० रुपैयाँ हजार चन्दको एनआइसी एशिया बैंकको खातामा खातामा हालिदिएको र थप २ लाख ९० हजार यहीँ माघको १८ गते धनगढीमा भेटेर नगद दिने तयारी रहेकोमा अहिले ती चन्द सम्पर्कविहीन भएको जानकारी दिए।
उनका अनुसार सो कमिसन रकम नगद दिने क्रममा चन्दलाई पक्राउ गराउने पीडित पक्षको तयारी थियो। सोही कुरा चाल पाएका चन्द भेटाैं भन्दा फरार भएको र सम्पर्कविहीन भएको महताले बताए। यो प्रतिनिधि घटना भएपनी चन्दले यो धन्दामा आतंक नै मच्चाएको महताको भनाई छ।
ती चन्दले सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा र संघीय मन्त्री प्रकाश ज्वालासँग आफ्नो सेटिङ रहेको बताउने गर्दथे। स्रोतका अनुसार यो धन्दामा चन्दलाई सुदूरपश्चिमकी पूर्व वनमन्त्री तथा समाजवादीकी नेत्री माया भट्ट र अर्का नेता परमानन्द भट्टको पनि संरक्षण छ।
ती चन्द माया मन्त्री हुँदा स्वकिय पनि बसेको बताइन्छ। उनले आफू निकट कार्यकर्ताबाट पनि रकम लिएको बताइएको छ। तर आफ्नै पार्टीको नेता भएकाले उनीहरु चुप छन्। सुरुमा योजना पर्ने आशमा पैसा दिने र दिन तयार हुनेहरू आफूहरु ठगिएको थाहा पाएपछि चन्दको आतंक बाहिरिएको हो।