काठमाडाैं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन् । चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् ।
व्यक्तिगत कारणले भन्दै चन्दले शनिबार राजीनामा दिएका थिए । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको सचिवालयबाट उक्त राजीनामा पत्र मानव स्रोत विभागमा पुगेको थियो ।
उनलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालय सुझाएको प्रहरीले स्रोतले जानकारी दिएको छ । डीआईजी चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको फिर्ता गएइएको बुझिएको छ ।
विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटपिट भएको घटनामा डीएसपी, असई र जवानलाई कारबाहीको सिफारिस भएपछि उनी रुष्ट थिए । त्यसअघि पनि उनले डीआईजीहरुको सरुवामा सुदूरपश्चिम प्रदेशको नेतृत्व खोजेका थिए । तर, पाएका थिएनन् ।
चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए। चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन्।
चन्द तीनै विवादित डीआईजी हुन्, जसले नेपाल वायुसेवा निगमलाई आफूसहित परिवारका लागि बैंकक घुम्न सित्तैमा टिकट मागेको खुलासा भएको थियो।