काठमाडौं : बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
थप अनुसन्धानका लागि चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुरलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रहरीले उनीहरुलाई १८ माघमा पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । त्यसक्रममा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले म्याद पाएको थियो ।
यो अवधिमा प्रहरीले तीनै जनाको बयान सकेको छ । तर, थप अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले फेरि अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिएको थियो ।
यो प्रकरणमा पक्राउ परेका तीनै जनालाई स्वास्थ्य कारण देखाउँदै ग्राण्डी अस्पतालमा राखिएको छ ।