धनगढी : जिल्ला अदालत डडेल्धुरामा कार्यरत न्यायाधीश दयाराम ढकालको चितवन सरुवा भएको छ।
न्याय परिषद्को आज बसेको बैठकले ढकालसहित उच्च अदालतका तीन र विभिन्न जिल्ला अदालतका नौ गरी १२ जना न्यायाधीशको काज सरुवा गरेको हो।
प्राप्त विवरणअनुसार उच्च अदालतका न्यायाधीशहरुमध्ये रामेश्वर रेग्मी सुर्खेतबाट पाटन सरुवा भएका छन्।
त्यस्तै, काजीबहादुर राई सुर्खेतबाट विराटनगर र विष्णुप्रसाद अर्याललाई तुलसीपुर, बुटवल इजलासबाट तुलसीपुर पुर्याइएको छ।
जिल्ला अदालतका न्यायाधीशहरुमध्ये ऋषिराम आचार्य कास्कीबाट ललितपुर सरुवा भएका छन्।
हरिप्रसाद कोइराला सुनसरीबाट कास्की, अवनी मैनाली भट्टराई कास्कीबाट मकवानपुर र प्रमेश पोखरेललाई तेह्रथुमबाट पर्सा लगिएको छ।
तेजबहादुर खड्कालाई रौतहटबाट झापा र भीमबहादुर निरौलालाई झापाबाट तेह्रथुम पठाइएको छ।
त्यसैगरी, दयाराम ढकाल डडेलधुराबाट चितवन, बाबुराम सुवेदी नवलपुरबाट मोरङ र कुलप्रसाद पाण्डे दाङबाट नवलपुर सरुवामा परेका छन्।