डडेल्धुराः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अपेक्षाअनुसार विकास नभएको बताएका छन्।
मंगलबार राप्रपा जिल्ला कार्य समिति डडेल्धुराले सदरमुकामको बसपार्कमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले डडेल्धुरामा आफूले सोचेअनुसारको विकास भएको नपाएको बताएका हुन्। पाँचपटक प्रधानमन्त्री भइसकेका देउवाप्रति व्यंग गर्दै अध्यक्ष लिङ्देनले डडेल्धुराको सदरमुकाम यहीँ नै हो, कि अर्को सदरमुकाम छ ?’ भन्दै प्रश्न गरे।
‘एउटा मान्छेलाई डडेल्धुराका जनताले पाँचचोटी प्रधानमन्त्री बनाउने काम गरेका छन्। त्यहाँका जनताले त्यसवाफत के पाएका छन् भनेर हेरौँ र सिकौँ भन्ने मनमा थियो र आज डडेल्धुरा आइपुगेँ,’ उनले भने, ‘डडेल्धुराको सदरमुकाम यहीँ हो कि अर्को छ ? शेरबहादुर देउवाको डडेल्धुरा यहीँ हो कि अर्को छ ? शेरबहादुरका मतदाताले हिँड्ने बाटो यहीँ हो कि अर्को छ ? यहीँ हो भने हरे ‘जुन जिल्लाले पाँचपल्ट प्रधानमन्त्री पायो, त्यहीँ हो डडेल्धुरा ?’
उनले पाँचपटक प्रधानमन्त्री भएको जिल्लाको विकासको हबिगत यस्तो हुँदा हामी कहाँ पुग्दै भन्दै प्रश्न गरे। उनले देउवाबारे यसभन्दा बढी टिप्पणी नपर्ने पनि बताए। उनले डडेल्धुराबासीलाई राप्रपाको बहुमत रहेको झापाको हल्दीबारी गाउँपालिकाको विकास हेर्न आउने र विकास कस्तो हुन्छ भने त्यहाँबाट सिक्न आग्रह गरे। हल्दीबारी लिङ्देनको गृह गाउँपालिका हो।
अध्यक्ष लिङ्देनले डडेल्धुराका जनताको मत र मन परिवर्तन भए यहाँको मात्र नभएर देशकै मुहार परिवर्तन हुने बताए। ‘सही मान्छेलाई भोट नदिँदा देश बिग्रेको हो। पैसा दिनेलाई भोट दिन्छौँ अनि कहाँबाट देश विकास हुन्छ,’ उनले भने, ‘भोट दिने कुरा छोरी दिने भन्दा बढी महत्त्वपूर्ण छ। त्यसैले अब सही मान्छेलाई मात्रै भोट गर्नुपर्छ।’