धनगढी : दार्चुलाको एक नगरपालिकामा गज्जवको संयोग जुरेको छ।
संयोग पनि कस्तो भने नगरपालिकाको मेयरमा बुवा, प्रमुख प्रशासकीय अधिकृतमा छोरा र इन्जिनियरमा भतिजो कार्यरत छन्।
यो गज्जवको सौभाग्य जुरेको हो, शैल्यशिखर नगरपालिकामा।
नगरपालिकाको नगरप्रमुख हुन्, बिजयसिंह धामी।
यहाँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा छिमेकी पालिकामा कार्यरत पुस्करसिंह धामीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि बुवा छोरा र भतिजोको सँगै काम गर्ने सौभाग्य जुरेको हो।
मेयरका भतिजा योगेशसिंह धामी यही नगरपालिकाको इन्जिनियरका रुपमा कार्यरत छन्।
लेखापाल पीडित
काका मेयर र दाई प्रमुख प्रशासकीय अधिकृत भएपछि नगरपालिकामा कार्यरत भतिजो इन्जिनियर योगेशसिंह धामीको भने मनपरी भएको छ।
योगेशले दाई र काकाको आडमा नगरपालिकामा कार्यरत कर्मचारीलाई दुख्ख दिने गरेको बताइन्छ। योगेशको समूहले नै लगेर सह लेखापाल विजयकुमार विष्टलाई धम्क्याएर मध्यराति चेक काट्न लगाएको घटना बाहिरिएको थियो।
गत पुस २८ गतेको दिन मध्यराति मदिरा सेवन गरेर इन्जिनियर धामी र उनका केही सहयोगीहरु लेखापाल बिष्ट बस्ने घरमा छिरेका थिए।
उनीहरुले राति नै कार्यालयमा गएर भ्रमण बिल र मोटरसाइकल मर्मतको रकम भुक्तानी गर्न धम्काएका थिए।
इन्जिनियर धामीले लेखापाललाई म्यासेजमार्फत पनि अपशब्द प्रयोग गर्दै ‘फोन किन काटेको भोलि बस्नु छ कि नाँई फोन गर’ भनेर धम्काएका छन्।
लेखापाल बिष्टले मध्यराति घरमा गएर धम्काउने, कुटपिट गर्ने जस्ता क्रियाकलापले ज्यान जोखिममा रहेको भन्दै आवश्यक कारबाहिको लागि प्रमुख प्रशासकीय अधिकृत पुष्करलाई निवेदन दिएका छन्।
बिष्टले घटनाको छानबिन नहुन्जेलसम्म काम गर्न नसकिने भन्दै कार्यालय छाडेर हिडेको बताइएको छ।
नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जनकसिंह डागाले पनि सहलेखापाल विष्टलाई ज्यान मार्ने धम्की दिएका थिए।
वडाअध्यक्ष डागाको पनि मेयर र प्रमुख प्रशासकीयसँग सम्बन्ध राम्रो रहेको बताइन्छ। शैल्यशिखरमा धामी परिवारले मनपरी गर्न खोजेको भन्दै व्यापक आलोचना भइरहेको छ।
र, यो पनि :
दार्चुलाकाण्ड : लेखापाललाई वडाध्यक्षको पनि यस्तो धम्की !
दार्चुलामा इन्जिनियरको ग्याङ मध्यराति लेखापालको घरभित्र घुसेपछि…