धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले लगाएको रोयल्टी ठेक्कामा ठेकेदार र कम्पनीले अन्धाधुन्ध अवैध रुपमा गरिरहेको नदीजन्य उत्खनन् तथा संकलन रोकिएको छ।
आज (बुधबार) कञ्चनपुर र कैलालीका प्रमुख जिल्ला अधिकारीद्वय (सीडिओ) को टोलीले अवैध उत्खनन गरिरहेको स्थानमा अनुगमन गरि तत्काल काम रोक्न आदेश दिएका हुन्।
आज संयुक्त अनुगमन गरिएकोमा पुल नजिकैको क्षेत्रमा गरिरहेको उत्खनन रोक्न आदेश जारी गरिएको र काम रोकिएको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए। उनका अनुसार अहिले काम रोकिएको र मापदण्डअनुसार उत्खनन गर्न आदेश दिएर तटबन्ध र पुलक्षेत्रबाट १ किलोमिटर टाढा सीमाङ्कन गर्न भनिएको छ।
यसअघि कृष्णपुर नगरपालिकाको वडा नम्बर ९ र धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ को सीमाना क्षेत्र पर्ने राजघाटमा कृष्णपुरका मेयरको सेटिङमा अन्धाधुन्ध उत्खनन भैरहेको थियो। सो सम्बन्धमा महेन्द्रनगरपोष्टडटकमले निरन्तर समाचार प्रकाशित गरेको थियो। निरन्तरको फ्लोअपपछि सीडिओले सो क्षेत्रको अवैध उत्खनन रोक्न एक्सन लिएका हुन्।
४ करोड बढीमा ठेक्का पाएको काठमाडौंको कम्पनी सगरमाथा कन्स्ट्रक्सनले मोहनासहितका स्थानमा धमाधम उत्खनन गरिरहेको थियो। ज्ञानलाल श्रेष्ठको सो कम्पनीले स्थानीय युवाहरुको समूह समेत प्रयोग गरेर राजघाटमा मनपरी रोयल्टी उठाइरहेको थियो।
यतिमात्र होइन, सो कन्स्ट्रक्सनले अवैध रुपमा राजघाटस्थित मोहना पुल नजिकैको जनताको तटबन्धलाई समेत क्षति पुगाएर उत्खनन तथा नदीजन्य पदार्थ संकलन गर्दै आएको थियो। पुल क्षेत्र र तटबन्धबाट कम्तिमा १ किलोमिटरसम्मको दुरीमा मात्र उत्खनन गर्न पाइने भएपनी सो कन्स्ट्रक्सनले पुल र तटबन्ध नजिकैबाट मापदण्डविपरीत काम गरिरहेको थियो।
सो सम्बन्धमा कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा र निमित्त प्रमुख प्रसाशकिय अधिकृत मानबहादुर केसीलाई पटकपटक जानकारी गराउँदा पनि उनीहरूले कुनै एक्सन लिएका थिएनन्।
स्रोतका अनुसार मेयरकै सो अवैध उत्खननवाला ठेक्कामा सेयरसमेत रहेको बताइन्छ।