धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणमा पक्राउ परेका ६ जना छुटेका छन्।
सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै फाइल फिर्ता गर्दैै नियन्त्रणमा रहेकाहरुलाई हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि उनीहरु छुटेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले देउवाको मृत्यु घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाहरु हाजिरी जमानीमा छुटेको बताए।
उनका अनुसार सरकारी वकिलको कार्यालयले आइतबार फाइल फिर्ता पठाउँदै छाड्न निर्देशन दिएको थियो।
सोहीअनुसार गोदावरी नगरपालिका–१ का २७ वर्षीय विनोद शाह, गोदावरी–६ बस्ने २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ बस्ने २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका–९ बस्ने ३८ वर्षीय रामबहादुर ऐर छुटेको डीएसपी चन्दले बताए। तर उनीहरुमाथि अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ।
२५ पुसको राति साथीसँगै अत्तरियास्थित न्यू दोहोरी साँझमा गएका उनी त्यहाँ भएका अन्य व्यक्तिसँग वादविवाद भएपछि घर जान भन्दै बाहिर निस्किएका थिए। तर, उनी भोलिपल्ट गोदावरी नगरपालिकाको चौकीडाँडामा अर्धचेत अवस्थामा भेटिएका थिए।
उनको उपचारकै क्रममा मृत्यु भएको थियो। देउवाको मृत्यु भएपछि हत्या गरिएको भन्दै उनीसँगै गएका साथीसँगै ६ जनाविरुद्ध परिवारले किटानी जाहेरी दिएको थियो।