मकवानपुर : मकवानपुरमा छोरीलाई निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका बुवा धरौटी बुझाएर रिहा भएका छन्।
जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भई हेटौँडा उपमहानगरपालिका–५ सिँचाइ टोल बस्ने २७ वर्षीय रामजी मण्डललाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
गएको पुस २१ गते मण्डलले चार वर्षीया छोरीलाई पढाउने क्रममा कुटपिट गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।
मण्डलले छोरीलाई पेन्सिलले मुख र शरीरका विभिन्न भागमा घोचेर घाइते बनाएका थिए । घाइते छोरीलाई हेटौँडा अस्पतालमा उपचार गरी घर लगिएको छ।
बालिकालाई कुटपिट गर्ने मण्डललाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो । उनीमाथि बालबालिकाविरुद्ध कसुर मुद्दामा कारबाही शुरु भएको हो।
Facebook Comments Box