डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाका एम्बुलेन्सले यात्रु ओसारेको पाइएको छ।
बिरामीलाई सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाबाट सञ्चालन भएका २ एम्बुलेन्सले विद्यार्थी बोकेको पाइएपछि जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको हो।
एक सुत्केरीलाई छाडेर विद्यार्थी बोक्न थालेपछि उनका आफन्तले प्रहरीलाई खबर गरेका थिए। उक्त खबर पाएपछि ट्राफिक प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
नियन्त्रणमा लिइएका एम्बुलेन्स चालकलाई सम्झाईबुझाइ गरेपछि छाडिएको छ। भोलिदेखि डडेल्धुरा सदरमुकाममा हुने राष्ट्रिपति रनिङ शिल्डमा सहभागी हुने विद्यार्थीलाई बोकेका एम्बुलेन्स भागेश्वर गाउँपालिकाको बगरकोटभन्दा माथिबाट नियन्त्रणमा लिइएका थिए।
यस विषयमा अजयमेरु गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत जितेन्द्रप्रसाद ओझाको भनाई भने फरक छ। उनले गाउँपालिकामा कुनै सुत्केरी नभएको अवस्थामा गलत सूचनाका आधारमा प्रहरीले आफ्ना एम्बुलेन्स नियन्त्रणमा लिएको बताए।
‘हामीले सुत्केरी को छ भनेर पालिकाभरी बुझ्यौं तर कतै भेटिएन तर एकजना सुत्केरीका लागि साँझ एम्बुलेन्स भनेको जानकारी आयो। तर, प्रहरीले हामीसँग समन्वय नगरिकनै गलत सूचनाका आधारमा एम्बुलेन्स नियन्त्रणमा लियो’ उनले भने।
त्यस्तै प्रहरीले जानकारी दिएअनुसार आफूहरुसँग ४ वटा एम्बुलेन्स नभएको उनले प्रष्ट पारेका छन्। उनले पालिकाको खर्चलाई मितव्ययी बनाउन रनिङ शिल्डमा सहभागी हुने विद्यार्थीलाई २ एम्बुलेन्समा लगेका बताएका छन्।
*यसअघि जानकारीमा आएको केही त्रृटिका कारण भएको भुल सुधार गरिएको छ । -सम्पादक