धनगढी : दार्चुलाको महाकाली नगरपालिका र नगर प्रमुखविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । महाकाली नगरपालिका–५ का स्थानीयहरुले जिल्ला अदालत दार्चुलामा मुद्दा दायर गरेका हुन् ।
स्थानीयहरुलाई जानकारी नदिएर महाकाली नगरपालिकाले आफ्नो मनोमानी ढङ्गले गाउँमा असर पर्नेगरी महाकाली नदीबाट बालुवा, गिट्टी उत्खनन् गर्न टेन्डर आह्वान गरेको भन्दै स्थानीयहरुले पालिका र नगरप्रमुख नरसिंह चैसिरविरुद्ध मुद्दा दर्ता गराएको स्थानीय भोजराज बडूले जानकारी दिए ।
स्थानीयहरुको सहमति बिना एक्लौटी रुपमा नगरपालिकाले टेन्डर खोलेको वडा नम्बर ५ का स्थानीय शेखर चन्द्र भट्टले बताए । ‘नजिकको सरकार भनेको स्थानीय सरकार हो, स्थानीय सरकारले नै हामीमाथि अन्याय गरेको छ । राजनीतिक पुर्वाग्रह राखेर हामीमाथि घात भएको छ । सामाजिक सद्भाव खल्बलाउने काम गरिएको छ, स्थानीयले आक्रोश पोख्दै भने ।’
२०८० असारमा ४ गते महाकाली नगरपालिका नगर प्रमुख सदस्य रहेको जिल्ला समन्वय समिति प्रमुख महादेब बडूको संयोजकत्वमा बैठक बसी खेट्टेबगर क्षेत्रमा कटानको जोखिम रहेकाले नदीजन्य तथा खनिजजन्य पदार्थ उत्खनन, संकलन र बिक्रि गर्न उपयुक्त नरहेको भन्दै बन्द गरेको थियो ।
तर, समितिको बैठकमा नगरप्रमुख चैसिर आफै उपस्थित भई हस्ताक्षर समेत गरेका थिए । नगरपालिकाले नियम विपरित स्थानीयहरुलाई पन्छाएर २०८० माघ २ गते प्रथम पटक बोल पत्र सम्बन्धि सूचना प्रकाशित गर्यो । यसरी मौलिक हकमा अघात पुग्नेगरी नगरपालिकाले मनोमानी र नियमको ठाडो उल्लघंन गरेको स्थानीयहरुको रीट निवेदनमा छ ।
यस बिषयमा नगरपालिकाका प्रमुख चैसिरलाई बुझ्दा नियम कानून र अध्ययन गरेर बोलपत्र आह्वान गरेको बताए । कसैको घर जग्गामा क्षति पुग्ने गरी काम गर्ने होईन्, अध्ययन गरेर काम गर्ने नगरप्रमुख चैसिंरले भने ।