महेन्द्रनगर: कञ्चनपुर प्रहरीको कमाण्डको जिम्मेवारी एसपी कमल थापाको काँधमा छ।
तर, विवादित छविको उपमा पाएका एसपी थापाले कमाण्ड सम्हालेदेखि जिल्लामा तल्लो तहका प्रहरी कर्मचारी मात्रै पीडित बनेका होइनन्, आपराधिक क्रियाकलापमा समेत बढावा भएको पाइन्छ।
एसपी थापाले कञ्चनपुर प्रहरीको कमाण्ड सम्हालेसँगै तस्करहरु खुसी भएको बताइदै आइएको थियो। सेटिङ र लेनदेनमा कुरा मिलाएर तस्करी गर्न पाइने भन्दै तस्करी गर्नेहरु खुसी भएका थिए।
त्यहीँ बेलादेखि खुला सीमानाका भएको कञ्चनपुरमा तस्करी मौलाएको पाइएको छ। जिल्लाका विभिन्न नाकामा उखुदेखि अन्य मालसमानको तस्करी हुने गरेको हो। विशेषगरी प्रहरीकै सेटिङमा भारतीय उखुको तस्करी हुने गरेको हो।
तस्करसँग कञ्चनपुर प्रहरीको साँठगाँठ, एसएसबीसँग बैठक
कञ्चनपुरमा भारतसँग सिमा जोडिएका क्षेत्रमध्ये झिलमिला, भुडा बेलौरी, पुनर्वास लगायतका क्षेत्रमा तस्करी बढी हुने गरेको पाइन्छ।
यी क्षेत्रबाट भारतीय उखु अवैध रूपमा नेपाल भित्रिन्छ। भारतमा सस्तो पाइने भएका कारण रातिको समयमा अवैध रूपमा उखु नेपाल भित्रिन्छ।
त्यो पनि प्रहरीकै सेटिङमा। स्थानीय युवाहरुका कारण तस्करीको उखु नेपाल ल्याउन समस्या भएपछि भने प्रहरी र उखु तस्करसहितको बैठक सीमा क्षेत्रमा बसेको प्रहरी स्रोतले जानकारी दियो।
उक्त बैठक सीमा क्षेत्रमै घर भएका विनोद कठायतको घरमा बसेको बताइन्छ। विनोद उखु व्यापारी हुन्। रातिको समयमा भारतबाट तस्करीको उखु भित्र्याउन नयाँ योजनासहित उनीहरुले बैठक नै राखेको विषय बाहिर आएको हो।
भारतबाट उखु नेपाल ल्याउन विनोद कठायतको घरमा बसेको बैठकमा समेत भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सशस्त्र प्रहरी समेतको सहभागिता रहेको विषय बाहिर आएको हो।
स्थानीय युवाहरुका कारण तस्करीको उखु नेपाल ल्याउन समस्या भएको विषय बैठकमा उठेको बताइन्छ। बैठकमा सहभागी एक युवाका अनुसार रातिको समयमा तस्करी रोक्ने युवाहरुका खुट्टा भाँच्नुपर्ने बैठकमा सहभागीले बताएका थिए।
सशस्त्र प्रहरी र एसएसबी सहभागी बैठकमा नै सुरुमा तस्करीको विरोध गर्ने स्थानीयलाई कुटपिट गरेर हातखुट्टा भाँच्ने र पछि सबै जनाबाट पैसा उठाएर उपचार गर्ने विषय उठेको ती युवकले बताए।
स्थानीय त्रसित, एसपीको सेटिङ
नेपाल र भारतका तस्करहरुको बैठकमा विरोध गर्नेमाथि कुटपिट गर्ने विषय उठेपछि स्थानीय त्रसित छन्।
उनीहरुले गत सोमवार महाकाली चिनी मिलसँग छलफल गरेका छन्। बेलौरी १० स्थित रहेको महाकाली मिलका मालिक शेखर श्रेष्ठ, जिएम, रणविर कुमार र सीएम सीडी पाण्डे रहेका छन्।
कञ्चनपुरको सीमा क्षेत्रबाट तस्करी हुने उखु यहीँ मिलमा पुग्ने गरेको प्रहरी स्रोत बताउँछ।
सीमा क्षेत्रमा रहेका विनोदको घरमा भएको छलफलमा विरोध गर्ने युवाहरुका खुट्टा भाँच्ने विषय उठेकाले उनीहरुले सुरक्षाको माग गरेका छन्।
सीमा क्षेत्रमा भएको तस्करहरुको बैठकमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को समेत सहभागिता रहेको भन्दै उनीहरु झन त्रासमा छन्।
एक स्थानीयका अनुसार विनोद कठायत भन्नेको घरमा ६० जना भन्दा बढी व्यापारीहरु जम्मा भएका थिए।
‘विरोध गर्नेलाई भारतमा भेटे मार्ने र नेपालमा भेटिए खुट्टा भाँच्ने विषय उठेको रहेछ। खुट्टा भाँच्ने र सबै मिलेर उपचार गर्ने धम्की आएपछि हिजो साथीहरु मिलमा गएका थिए,’ एक स्थानीयले भने, ‘मिलको जिएमले केही हुँदैन, हामी जिम्मा लिन्छौ भन्नु भएको छ।’
सीमा क्षेत्रमा तस्करी रोक्ने युवाहरुको तस्बिरसमेत सुरक्षित राखेका छन्।
झिलमिलाबाट भारतीय उखु तस्करी हुँदै
बेलौरीबाट हुने उखुको तस्करी स्थानीयको विरोधपछि रोकिएको छ।
तर, बेलडाँडी गाउँपालिकाको झिलमिलाबाट सोमवार राति पनि भारतीय उखु तस्करी भएको पाइएको छ। भारतबाट तस्करीमा आयात गरिने उखु महाकाली चिनी मिलमा बिक्री हुँदै आएको छ।
बेलौरीका एक स्थानीयले भने, ‘यो क्षेत्रमा रातिको समयमा हुने उखुको तस्करी रोकिएको छ। अहिले झिलमिलाबाट उखु आउने गरेको छ। तर, बिक्री हुने महाकालीमा नै हो। जुन क्षेत्रबाट उखु आएपनि महाकालीमा नै बिक्री हुन्छ।’
बेलौरीबाट एक रातमा हुने २ सय ट्रली उखुको तस्करी अहिले रोकिएको छ। भारतबाट दैनिक २० हजार क्विन्टल उखु बेलौरीबाट मात्र तस्करी हुँदै आएको थियो।
उनीहरुले भारतबाट क्विन्टलको तीन सय २० भारुमा उखु ल्याउँछन्। यता महाकाली चिनी मिलमा ६ सय ३५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन्।
भारतबाट तस्करीको उखु आयात हुन थालेपछि माघ ६ गतेदेखि कञ्चनपुरको बेलौरीका स्थानीयले विरोध गरे। दैनिक २ सय ट्रली उखु भारतबाट तस्करी हुँदै आएको भन्दै उनीहरूले विरोध गरेका हुन्।
तर, स्थानीयले विरोध थालेको आठौँ दिनमा प्रहरीले चार जना युवालाई नियन्त्रणमा लिएको छ। बेलौरी नगरपालिका-१० का चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएपछि अहिले आन्दोलन तुहिएको छ।
एक स्थानीका अनुसार भारतबाट रातिको समयमा तस्करीको उखु कञ्चनपुरका चिनी मिलहरूमा आउने गरेको छ।
उनले भने, ‘रातिको समयमा पनि चिनी मिलहरूमा काम हुन्छ। नेपाली किसानहरू दिउसो आउनु हुन्छ। तर, रातिको समयमा भारतबाट तस्करीको उखु आउँछ। चिनी मिलका माधव शर्माले प्रशासन र व्यापारीसँग मिलाएर रातिको समयमा भारतबाट उखु ल्याउने गर्नुभएको छ। सात दिनसम्म बन्द गरेका थियौ। आठौँ दिनमा हाम्रा साथीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। अहिले फेरि भारतबाट उखु आउने गरेको छ।’
कञ्चनपुरमा भारतबाट दैनिक २ सय ट्रली तस्करीको उखु भित्रिदै आएको छ। एक ट्रलीमा एक सय क्विन्टलसम्म उखु हुने गरेको छ।
भारतबाट दैनिक २० हजार क्विन्टल तस्करीको उखु आयात हुने गरेको आशङ्का स्थानीयको छ। स्थानीय प्रशासनको मिलेमतोमै व्यापारीहरूले भारतबाट तस्करीको उखु ल्याउने गरेको स्थानीयले बताए।
भारतको कम्पुरनगर एरियामा भारती तस्कर जङ्गल फडानी गरेर बसेकाे बताइन्छ। उनीहरूले उखुसहित अन्य समान पनि ल्याउने गरेका छन्।
भारतीय तस्करले महाकाली सिँचाइको नहर एरियामा उखु लोड गरेको बोर्डरमा ट्रालि छोड्ने र नेपाली गएर ल्याउने गरेकाे बताइन्छ।
टिल्ला नम्बर ४ भुडा बोर्डर र वारि बेलौरी १० सडक घाटको एरियाबाट तस्करी हुने गरेको स्थानीय बताउँछन्।
सशस्त्रको विओपी भुडा इन्सपेक्टर रमेश सारु मगर, एसपी कमल थापाको सेटिङ, प्रहरी चौकी भुडाको असई शेर सिंह धामीको यसमा संलग्नता रहेको बताइन्छ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार एसपी थापाकै निर्देशनमा इप्रका बेलडाँडीका इन्सपेक्टर कृष्ण कुँवरले २ घुमुवा राखेर तस्करबाट पैसा असुल्ने गरेको पाइन्छ।
सुदूरपश्चिम तत्कालीन डीआईजी भरतबहादुर बोहरा हुँदा यी नाकामा कडाई भएको थियो। तर, बोहरा गएर नयाँ डीआईजी रविन्द्र केसी आउँदा तस्कर खुसी भएको पाइन्छ।
सीमामा हुने तस्करी रोक्न डीआईजी बोहराले निर्देशन दिँदा इन्सपेक्टरले जनशक्ति अभवले रोक्न नसकिने भनेपछि दङ्गाबाट १५ जना प्रहरी पठाएका थिए। तर, तस्करसँग मिलेका एसपी थापाको संरक्षणले तस्करलाई समात्न प्रहरी असफल भएको थियो।
एक स्थानीयले भने, ‘नेपाली नम्बरका ट्याक्टर हुन्छन। तर, धेरै ट्रलीहरू भारतीय हुन्छन। चार चक्काको ट्रलीहरू हुन्छन। प्रहरीमा जानकारी गराउँदा समेत नियन्त्रण भएको छैन्। कारण मिलेमतो नै हो।’
उनी आफूहरूले रोक्ने प्रयास गरेको समेत बताउँछन्। तर, उल्टै प्रहरीले उनीहरूलाई समात्यो। उनीहरूका विरुद्धमा मुद्दा चलाउने योजना समेत बनाएको थियो।
‘यता २० जना व्यापारी छन्। उनीहरूले प्रशासन, मिल र भारतीय व्यापारीसँग मिलेर रातिको समयमा गन्ना ल्याउदै आएका छन्,’ उनले भने।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको चिनी मिलहरूमा अवैध उखु विक्री हुने गरेको कुरा पटकपटक बाहिर आउँछन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र व्यापारीसँगको साठगाँठमा भारतबाट तस्करीको उखु आयान हुँदै आएको स्थानीयको आरोप छ।
तर, यस विषयमा स्थानीय प्रशासन भने मौन छ। एक स्थानीयले भने, ‘हामीलाई तपाइहरूसँग कुरा गर्नु पनि डर छ। व्यापारीहरू तस्कर छन्। उनीहरू चिनी मिल, प्रहरी र भारतीय तस्करहरूसँग मिलेका हुन्छन्। आफैंले भारतबाट ल्याउने होइन। यताको व्यापारीहरूले पारिकासँग मिलेर ल्याउने हुन।’
नेपाल सरकारले एक क्विन्टलको ६ सय ३५ रुपैयाँ उखुको मूल्य निर्धारण गरेको छ। भातबाट ५ सय रुपैयाँमै उखु खरिद हुने गरेको छ।
भारतबाट आयात भएको उखुमा एक क्विन्टलमा नै एक सय १८ रुपैयाँ नाफा तस्करहरूले लिने गरेको स्थानीयको गुनासो छ।