काठमाडौं : न्याय सेवा आयोगले झण्डै चार दर्जन जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गरेको छ।
आयोगको परीक्षा महाशाखाले आज सूचना प्रकाशित गर्दै ४३ जना जिल्ला न्यायाधीशका लागि दरखास्त मागेको हो।
संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम उक्त पदमा आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्धारा पदपूर्ति गर्नका लागि योग्यता पुगेका उम्मेदवारलाई आवेदन दिन भनिएको छ।
आन्तरिक खुलातर्फ २१, खुलातर्फ १२, महिलातर्फ चार, आदिवासी जनजाति र मधेशीतर्फ दुई-दुई तथा दलित र अपांगतातर्फ एल-एक जनाका लागि दरखास्त खुलेको सूचनामा उल्लेख छ।
जिल्ला न्यायाधीश हुनुका लागि संविधानमा तोकिएबमोजिम आवश्यक न्यूनतम योग्यता र अनुभव भएका व्यक्तिलाई आगामी ३० दिनभित्र आवेदन पेश गर्न आग्रह गरिएको छ। दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म दरखास्त दिन सकिनेछ।