काठमाडौं– कर्णालीका आठ जिल्लामा सत्ता गठबन्धन दलको निर्णय तोडेर उम्मेदवारी दिइएको छ । प्रदेशका सुर्खेत र रुकुम पश्चिम बाहेकका आठ जिल्लाका पालिकाहरुमा भागबण्डा गरेर जाने सहमति भएपनि गठबन्धन दलले एक्ला–एक्लै उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको प्रदेश संयन्त्रले चार दिन लगाएर भागबण्डा गरेर जाने सहमति गरेपनि उक्त निर्णय कार्यान्वयन हुन नसकेको हो ।
गत सोमबार गठबन्धन दलहरुले उम्मेदवारी दर्ता गराएका थिए । दैलेखको नारायण नगरपालिका बाहेक अन्य पालिकामा गठबन्धन दलहरूबाट छुट्टा–छुट्टै मनोनयन दर्ता भएको छ भने हुम्लाका धेरैजसो पालिकाहरुमा बागी उम्मेदवारी परेको छ ।
७ वटा गाउँपालिका रहेको हुम्लामा ६ पालिका अध्यक्ष र ७ उपाध्यक्षमा बागी उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गठबन्धनकै सहयोगमा मुख्यमन्त्रीको पद जोगाएका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोटमा समेत गठबन्धनमा समस्या देखिएको छ ।