धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका नगर कार्यपालिकाको आज शुक्रबारको बैठक नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।
बैठक सञ्चालन कार्यविधिअनुसार एजेन्डाबारे २४ घण्टा अगाडि लिखित रूपमा जानकारी नदिएकाले प्रक्रिया विपरीतको बैठक बहिष्कार गरिएको २ नम्बर वडाका वडाध्यक्ष अर्जुन साउँदले जानकारी दिए ।
शुक्रबार दिउँसो २ बजे बोलाइएको २४औं कार्यपालिका बैठकका एजेन्डा भनेर समसामयिक विषय र विविध पठाइएको थियो । तर वडाध्यक्ष साउँदले एजेन्डा मूर्त रूपमा नदिई बैठक सञ्चालन गर्नु प्रक्रियाविपरीत रहेको दाबी गरे । माओवादीबाट कृष्णपुरमा ४ वडाध्यक्ष निर्वाचित छन् ।
‘बैठक सञ्चालन कार्यविधिअनुसार जानुपर्छ भनेर बहिष्कार गर्यौं, अघिल्ला कार्यपालिका बैठकमा उठाएका विषय कार्यान्वयन हुनुपर्छ भन्यौं । बैठकमा चर्काचर्की भयो ।’
नगर कार्यपालिका र नगर सभाका निर्णय ‘क्लोजिङ’ गर्ने विषयमा पनि प्रक्रिया मिच्ने गरिएको उनले आरोप लगाए । ‘हामी सहमत नभएका बैठकमा जानकारी नगराई नगर सभामा निर्णय गर्ने गरिएको छ,’ उनले भने, ‘विगतका त्रुटिले हामी सबैमाथि प्रश्न उठेको छ ।
अख्तियारमा मुद्दा पुगेको छ । यसरी नै जाने हो भने त भोलि कानूनी उपचार पनि खोज्न सकिन्छ । बैठक सञ्चालन कार्यविधिअनुसार जानुपर्छ ।’
नगरपालिकालाई मेयरको प्रालि जस्तो नबनाई कार्यविधि बमोजिम अगाडि बढ्नुपर्ने उनले बताए । उनले भने, ‘मुद्दा परेका र गैरकानूनी निर्णय हामी मान्दैनौं । नगर सभामा छलफल नै नभएका निर्णय गरिएको छ ।’
कृष्णपुरका नगर प्रमुख (मेयर) हेमराज ओझाले बैठकमा छलफल भइरहेको जानकारी दिए । ‘उहाँहरू बाहिर निस्किनुभएको छ । बहुमत सदस्य हामी बैठकमै छौं । मिटिङ बसेकै छौं, उहाँहरूलाई पनि आउनुस् भनेकै छौं,’ उनले भने ।