धनगढी : कञ्चनपुर प्रहरीले धमाधम पत्रकार पक्राउ गर्न थालेपछि सांसददेखि पत्रकारसम्म आक्रोशित भएका छन् । प्रहरीले शनिबार बिहान माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुस्कर भट्टलाई नियन्त्रणमा लिएको थियो भने दिउँसो पत्रकार ऐश्वर्य कुँवरलाई समेत नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनीहरु विरुद्धमा विद्युतीय कारोबार सम्बन्धी मुद्दामा जिल्ला अदालत, कञ्चनपुरबाट पक्राउका लागि अनुमति ल्याइएको थियो। पत्रकार भट्ट र कुँवरले केही दिनदेखी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा भईरहेका गलत गतिविधीहरुको निरन्तर रिर्पोटिङ गरिरहेका थिए ।
यसरी प्रहरीले समाचार लेखेको भरमा प्रतिशोधपूर्ण कारबाही गर्न पक्राउ गरेको भन्दै सासंददेखी पत्रकारहरुले आक्रोशित भएका छन् ।
कञ्चपुरबाट निर्वाचित प्रदेश सभा सासंद ओमबिक्रम भाट (सरल)ले पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्नु निन्दनीय भएको बताएका छन् ।
उनले जिल्ला प्रहरी कार्यालयमा कार्यरत इन्सपेक्टरमाथि जवानलाई यातना दिएको घट्ना बाहिर आईरहेका बेला सत्यतथ्य छानबिन गर्नुपर्ने अवस्थामा पत्रकारलाई पक्राउ गरेर गल्ती ढाकछेप गर्नु गलत भएको बताएका छन् ।उनले आफ्नो कमिकमजोरी लुकाउन प्रहरी दमनमा उत्रिएको लेखेका छन् ।
सामाजिक सञ्जाल र मिडियामा लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने कञ्चनपुर प्रहरीको कार्य आफैंमा निन्दनीय छ । एकजना प्रहरी जवानले प्रहरी अधिकृत माथी संगिन आरोप लगाएर राजिनामा दिएको अवस्थामा सत्यतथ्य जाँचबुझ र छानबिन गर्नु प्रहरी प्रशासनको प्रथम दायित्व हो । तर जसरी प्रहरी प्रशासन आफ्नो कमिकमजोरी ढाकछोप गर्ने ढंगले सफाइ दिंदै आफू चोखो भएको भन्दै दमनमा उत्रेको छ यसले प्रहरी प्रशासन प्रती नागरिकको बिश्वास र भरोसा घटाइरहेको छ । त्यसकारण धरपकड र दमन अहिलेको समस्याको निकास होइन । यसको निकास सत्यतथ्य बाहिर ल्याएर पिडित पक्षलाई न्याय र दोषीलाई कारबाही नै हो । अपराधी जस्तै पत्रकार पुष्कर भट्टलाई पक्राउ गर्नु प्रहरी प्रशासनको कमजोरी हो । यसलाई समयमै सच्याइयोस् ।
यस्तै कञ्चनपुरमा बरिष्ठ पत्रकार खेम भण्डारीले प्रहरीले प्रतिशोधपूर्ण कारबाही गरेको भन्दै लडाइँ ठूलै हुने बताएका छन् । उनले लेखेका छन् ।
पत्रकार पुष्कर भट्टलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रतिशोधपूर्ण कार्वाही गरेको हो भने लडाइँ ठूलै हुनेछ । आरोप र अभियोग तुरुन्त सार्वजनिक गर
यस्तै पत्रकार जि भट्टले प्रहरी संगठनभित्रका काला कर्तुत लुकाउन राज्यशक्तिको दुरुपयोग भएको बताएका छन् ।
पत्रकार पुष्कर भट्ट पक्राउको विषयमा प्रहरीले अभियोग सार्वजनिक गर्नुपर्छ । प्रहरी संगठनभित्रका काला कर्तुत लुकाउन राज्यशक्तिको दुरुपयोग हुनु हुँदैन । समाचार लेख्ने पत्रकारको हक हो, फेसबूकमा लेख्ने नागरिक हक (अभिव्यक्ति स्वतन्त्रता) हो । अभियोग आकर्षित हुने विषय के हो ? प्रहरीले तुरुन्त सार्वजनिक गरोस् !