काठमाडौँ : कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दाको पेसी आजका लागि तोकिएको छ । मुद्दाको आजदेखि निरन्तर सुनुवाइ हुने जनाइएको छ।
ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरलगायतका आरोपमा आलमसहित ११ जनाविरुद्ध दायर रिटको सुनुवाइ हुन लगोको हो।
आलम लगायतविरुद्ध दायर मुद्दा न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ। आइतबार गोला तान्ने क्रममा फाँट नम्बर ५ को गोला न्यायाधीश आचार्यले तानेका थिए।
फाँट नम्बर ५ मा रहेको आलमको मुद्दामा अब निरन्तर सुनुवाइ हुने अपेक्षा गरिएको छ। यसअघि गत पुस २९ गते आइतबारका लागि उक्त मुद्दाको पेसी तोकेको थियो।
तर उक्त दिन दिन न्यायाधीश अभावका कारण गोला नतानिएपछि स्थगितको सूचीमा राखिएको थियो। गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो।
त्यसपछि वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीले बहस नोट बुझाइसकेका छन्। १८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको थियो।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते रौतहटको राजपुर फरहदवा वडा नम्बर ४ मा रहेको प्रतिवादी आलमको काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको र सो क्रममा घाइते भएकालाई आफ्नै इँटा भट्टाको चिम्नीमा जलाएर मारेको आरोप आलममाथि लगाइएको छ।
तर, आलमले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्।