धनगढी : बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीलाई रिहा गर्न आदेश दिने जिल्ला अदालत काठमाण्डौंका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई सजायस्वरुप दुर्गम मुगुमा काज सरुवा गरेका छन् ।
प्रहरीले अनुसन्धान जारी राखेकै बेला जिल्ला अदालत, काठमाण्डौले दिएको आदेशउपर गम्भीर कैफियत जनाउँदै त्यसमा सँलग्न न्यायाधीशलाई सजायस्वरुप मुगुमा काज सरुवा गरिएको हो ।
गत सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीशको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सिआइबीलाई आदेश दिएको थियो ।
उक्त आदेशअनुसार पक्राउ परेका चौधरीसहित तीनै जना बुधवार रिहा भएका थिए । व्यवसायी चौधरीसहित छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर रिहा भएका थिए ।
अनुसन्धान नसकिँदै रिहा गर्न आदेश दिएपछि न्यायालयमाथि चौतर्फी प्रश्न उठ्दै आएको छ ।
न्यायाधीश आचार्यले गत बुधबारको विवादास्पद आदेशका निम्ति ठाउँको ठाउँ सजाय पाएको स्रोतको दाबी छ । प्रधान न्यायाधीशको यो निर्णयबाट पनि जग्गा घोटाला प्रकरणमा न्यायाधीशको बदनियत स्वतः प्रमाणित भएको छ ।
उक्त जग्गा काण्डमा पक्राउ परेकाहरुलाई दुई दिनभित्र अनुसन्धान टुंग्याएर थुनामुक्त गर्न आदेश दिइएपछि न्यायाधीश आचार्य विवादमा तानिएका थिए ।