धनगढी : नेपाल प्रहरीका एसपीहरुको सरुवा हुने बताइएपनी फेरि रोकिएको छ। अस्तितिर नै एसपीहरुको सरुवा निस्किने भनेकोमा आजसम्म पनि सरुवा हुन सकेको छैन।
एसपीको सरुवामा गृहमन्त्री, प्रधानमन्त्री र केही व्यवसायीहरुको इन्ट्रेस्ट जोडिएपछि सरुवामा ढिलाई भैरहेको बताइएको छ। स्रोतका अनुसार अहिले केही जिल्लाको एसपी सरुवामा बिचौलियाको स्वार्थ बल्झिदा ढिलाई भएको हो।
सुदूरपश्चिमको सवालमा कैलाली र कञ्चनपुरमा आफू निकटको एसपी ल्याउन बिचौलियाहरू सक्रिय भएका छन्। तराई र नाका भएका मालदार जिल्ला भएकाले यी जिल्लामा सरुवाका लागि एसपीबीच मारामार नै हुने गर्दछ।
त्यसकारण अहिले पनि केही एसपीहरू बिचौलियामार्फत आर्थिक चलखेल गरी नाकावाला जिल्लामा आउने प्रयासमा छन्। गत शुक्रबार एसपी सरुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारी भएपनि केही जिल्लामा पठाउने एसपीको नाममा सहमति हुन नसकेपछि अहिलेलाई सरुवा रोकिएको छ।
विशेषगरी कञ्चनपुरमा विवादित छवि बनाएका व्यवसायी तेजबहादुर चन्दले आफू निकटको एसपी ल्याउन खोजिएको स्रोतले जनाएको छ। केही दिन अगाडिमात्र ती चन्दले गृहमन्त्रीमार्फत पावर लगाएर निकटको एसपी आफ्नो जिल्ला पठाउन भनेको स्रोतको दाबी छ।
ती व्यवसायी चन्द उनै व्यक्ति हुन्, जसले हालका कञ्चनपुरका एसपी कमल थापालाई राम्रै सेवा गर्ने गरेको चर्चा सुनिन्छ। थापालाई जिल्लामा गाडीदेखि पैसासम्मको व्यवस्थापन तिनै चन्दले गरिदिने गरेको स्रोतको बुझाई छ।
यहाँ बस्दा विवादित बनेका एसपी थापा जाने भएपछि चन्दले काठमाडौं बसेर आफू निकटको मान्छे ल्याउन निकै कसरत गरिरहेका छन्। यस्तै कैलालीमा पनि केही व्यवसायीहरुले भनसुन गरिरहेको प्रहरी प्रधान कार्यालयमा चर्चा छ।
अस्ति नै भैसक्नुपर्ने सरुवामा राजनीतिक हस्तक्षेप र चलखेलले सरुवाको निर्णय हुन सकेको छैन। जसकारण सरुवा हुने जिल्लामा बेथिति बढिरहेको छ भने सरुवामा झन् चलखेल बढिरहेको छ।