धनगढीः कमलबहादुर शाहले सुदूरपश्चिमको मुख्यमन्त्री भएपछि एक वर्षमा २२ पटक काठमाडौं आउजाउ गरेको खुलेको छ। मुख्यमन्त्री शाह कहिले त एक महिनामै ३ पटकसम्म संघीय राजधानी पुगेको पाइएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मुख्यमन्त्री शाहले काठमाडौँ आउजाउमा एक वर्षमा साढे ८ लाख रुपैयाँ खर्च गरेका छन्। २६ माघमा मुख्यमन्त्री नियुक्त भएका शाहले २७ माघमा पदभार ग्रहण गरेका थिए।
पदभार ग्रहण गरेको भोलिपल्ट २८ माघदेखि काठमाडौ आउजाउ थालेका मुख्यमन्त्री शाहले दैनिक भत्ता र हवाइजहाज भाडा शीर्षकमा ५ लाख ५६ हजार रुपैयाँ खर्च गरेका छन् भने उनको निजी सचिवालयमा कार्यरत कर्मचारीको भत्तामा २ लाख ८९ हजार रुपैयाँ खर्च भएको छ।
२०७९ मंसिरमा, २०८० को फागुन र चैतमा त मुख्यमन्त्री शाह ३ पटकसम्म काठमाडौं गएका छन्। शाहले आफ्नो एक वर्षको कार्यकालमा ६८ दिन काठमाडौंमा बिताएका छन्। मुख्यमन्त्री शाहको अत्यधिक काठमाडौं आउजाउको विषय आलोचित बनेको छ। पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले भने मुख्यमन्त्री शाहको काठमाडौं आउजाउलाई तीर्थाटन भनेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने प्रदेश सरकारको कामजकाज, विभिन्न भेटघाट तथा सरकारी काम प्रयोजनका लागि मुख्यमन्त्रीले काठमाडौं आउजाउ गरेको जनाएको छ।
काठमाडौं आउजाउबाहेक एक वर्षको अवधीमा मुख्यमन्त्री शाहको सेवा सुविधामा ५१ लाख ४३ हजार रुपैयाँ खर्च भएको पाइएको छ। मुख्यमन्त्री शाह र उनको निजी सचिवालयमा कार्यरत कर्मचारीको पारिश्रमिकमा ३८ लाख २१ हजार रुपैयाँ खर्च भएको पाइएको छ। मुख्यमन्त्रीको पारिश्रमिक, इन्धन सुविधा, हवाइ टिकट र दैनिक भ्रमण भत्तामा कुल ५९ लाख ८९ हजार खर्च गरेको पाइएको हो।