काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो (२८ माघ) भ्रष्टाचारविरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरुद्ध हदैसम्म निर्मम हुने बताएका हुन्।
प्रचण्ड भन्दै थिए, ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडि बढाउने प्रतिबद्धता सरकारले गरेको छ।’
तर, त्यही कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई भन्दै थिए, ‘राजस्व चुहावट, चोरी, निकासी, पैठारी, न्यून विजकीकरण तथा राजस्व छली जस्ता घटना बढेका छन्। यसलाई रोक्न राजस्व प्रशासनमा सुधार र राजस्वका नयाँ क्षेत्रको पहिचान र विस्तारका लागि सम्बद्ध निकायहरु सक्रिय हुनुपर्छ।’
भ्रष्टाचारविरुद्ध निर्मम हुने ‘ओठे प्रतिवद्धता’ जनाएका प्रधानमन्त्री प्रचण्डले निजामती प्रशासनभित्रकै बदनाम उपाधिधारी र अख्तियारमा पटक–पटक उजुरी परेका पात्रलाई जिम्मेवारी सुम्पिएका थिए।
सहसचिव राजेश्वर ज्ञवालीलाई ठूला करदाता कार्यालयमा प्रमुख कर प्रशासकको जिम्मेवारी सुम्पिएका थिए। जो जुनसुकै सरकार फेरबदल भए पनि ठूला करदाता कार्यालयमा प्रमुख कर प्रशासकको जिम्मेवारीमा ढलिमली गरिरहेका हुन्थे।
आफूलाई ‘डेमोक्रेटिक’ अर्थात नेपाली कांग्रेस भन्न रुचाउने ज्ञवालीको सबैभन्दा ठूलो खुबी भनेको जुनसुकै पार्टी होस् वा व्यक्ति–सबैलाई रिझाएर आफ्ना लागि कुस्त लाभ लिनसक्नु हो। शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा होस् वा ‘प्रचण्ड’–ज्ञवालीले ठूला करदाता कार्यालयमै जरा गाडिरहनुले सबैलाई ‘चित्त बुझाउन सक्ने’ उनको खुबी पुष्टि हुन्छ।
ठूला करदाता कार्यालय त्यही हो, जसले मुलुकको राष्ट्रिय ढुकुटीका लागि सबैभन्दा धेरै कर र राजश्व उठाएर योगदान पुर्याउन सक्छ। तर, त्यही कार्यालयबाट सबैभन्दा धेरै राजश्व चुहावट भइरहेको अख्तियार प्रमुख राईकै भनाइले पुष्टि हुन्छ। यसबेला कर उठाउनका लागि ठूला उद्योगीहरुलाई प्रोत्साहित गर्नुको साटो हतोत्साहित बनाउने गरिएको छ। बार्गेनिङ (मोलमोलाई) प्रमुख आधार बनाइएको छ। स्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेल हुँदा त्यहाँ गएका ती ज्ञवाली अहिले महालेखा नियन्त्रकको कार्यालय अन्तरगत मानवस्रोत व्यवस्थापन महाशाखामा सह-महालेखा नियन्त्रकको रुपमा कार्यरत छन्।
त्यस अगाडी तीनै सहसचिव ज्ञवाली अहिले भुपाल बराल गएको आन्तरिक राजस्व विभागमा जान पावर लगाइरहेका थिए। उनी हालका अर्थमन्त्री प्रकाश शरण महतलाई त्यसका लागि भनसुन गराइरहेका थिए। तर, अर्थमन्त्रीले मानेनन्।
राजेश्वरले विभागमा जान खोज्दा नपाएपछि अहिले उनले मन्त्रीसहितलाई आलोचना गर्ने गरेका छन्। त्यस अगाडी उनी ठूलो करदाता कार्यालयबाट बाहिरिएका थिए।
कर्मचारी वृतमा राजस्वामारा कर्मचारीको रुपमा पनि उनको पहिचान छ। तत्कालीन समयमा उनी नेपाल ट्रस्टको सहसचिव पदमा हुँदा त्यहाँको जग्गा सस्तोमा दिएको पाइएको थियो। उनले पछिल्लो समय सबै दलका शीर्ष नेतालाई मिलाएर जाने रणनीति अपनाएका छन्।
अहिले पनि दीर्घ मैनालीको ठाउँमा भुपाल बराल गएकोमा त्यहीँ स्थानमा जान ज्ञवालीले जोरजुलुम गरेका थिए। तर त्यहाँ जान नसकेपछि उनले पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाका साला नाता पर्ने भूषण राणा र अर्थमन्त्री प्रकाश शरण महतलाई गाली गर्ने गरेको बताइन्छ। यस्टै उनको विदेशी बैंकहरुमा अकुत पैसा रहेको पनि बुझिएको छ।
ज्ञवाली निजामती प्रशासनभित्रकै बदनाम एवं ‘डन’ सहसचिवका रुपमा स्थापित छन्। स्रोतका अनुसार ज्ञवालीविरुद्ध पनि ‘आइटी माफिया’ विकल पौडेल र सुनिल पौडेलको जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका थिए। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईलाई नै प्रभावमा पारेर उजुरी ढिसमिस पारिएको स्रोतको दाबी छ।
र यो पनिः ‘आइटी माफिया’ विकल र सुनिल