धनगढी : नेपाल प्रहरीबाट भर्खरै डीआईजी कुवेर कडायतले लुम्बिनी प्रदेशको जिम्मेवारी सम्हालेका छन् । उनले प्रदेशका सबै कार्यालयमा स्वागत सम्मान खाँदै हिँडेका छन् । उनलाई त्यहाँको तस्करीको सञ्जालबारे बुझ्ने फुर्सद छैन । तर लुम्बिनी प्रदेशमा मजाले चलेको तस्करीमा सशस्त्रका डीआईजी अभी खत्रीको मस्ती चलेको छ भने अनुगमन गर्ने एआईजी चन्द्र प्रकाश गौतमको नैतिक सहमति जस्तो देखिएको छ ।
सशस्त्र प्रहरी एकेडेमी मातातीर्थको प्रमुखबाट ५ नं. वाहिनी जान सफल डीआईजी खत्री घर जाने बेलामा अकुत कमाउन लागेको आरोप छ । नेपाल प्रहरीमा नामुद घुस्याहा भनेर चिनिएका अवकाश प्राप्त डीआईजी छविलाल बञ्जाडेका आफन्त रहेका उनी अबको ५ महिनापछि अनिवार्य अवकाशमा जाँदै छन् । त्यही भएर पनि लुम्बिनी प्रदेशमा कमाउ धन्दा चलेको बताइन्छ । अवकाशमा जानुअघि कमाण्ड दिनु प्रचलन विपरीत भएपनि मानव स्रोतका एआईजी गौतमले उनलाई थमौती गरेर राखेको स्रोतको भनाई छ ।
अहिले पश्चिम नवलपरासी, रुपन्देही, बाँके, बर्दिया, दाङ र कपिलवस्तुको नाकाबाट व्यापक तस्करीको धन्दा मौलाएको श्रोत बताउँछ । पश्चिम नवलपरासीका गणपति एसपी धीरेन्द्र न्यौपानेको संरक्षणमा हरपुर, भुजहा, बलिनगर लगायतका नाकाबाट व्यापक तस्करी भइरहेको स्रोतको दावी छ । अहिले डीआईजी खत्रीलाई मासिक बुझाउनु पर्छ, एक बीओपी कमान्डरले नाम नबताउने सर्तमा नेपालबहसलाई भने । यसरी बुझाउनु परेपछि तलबबाट कटाएर दिने कुर भएन, तस्करी नगराएर के गर्ने त ? भन्दै ती जिल्लाका बीओपी तथा गणका कमान्डरले भन्ने गरेका छन् ।
यता रुपन्देहीका एसपी दीपक थापा र डण्डाका डीएसपी किशोर कुमार श्रेष्ठको पारा पनि उही छ । अवैध सामान पक्रेर भन्सार दाखिला गरेर मात्र हुँदैन डीआईजीलाई पनि बुझाउनु पर्छ भन्दै ती जिल्लाबाट तस्करी धन्दा मौलाएको बताइन्छ । यता २ नम्बर प्रदेशलाई दुख दिनसम्म दिएका एआईजी चन्द्र प्रकाश गौतमले ५ नम्बर प्रदेशमा भने सामान्य सोधपुछ गर्ने आँटसम्म गरेका छैनन् । सोझालाई पेल्ने र अलि कडा गर्नेलाई केही बोल्न नसक्ने गौतम लुम्बिनीमा केही नभए जसरी आँखा चिम्लिएर बसेका छन् । त्यही तस्करी कपिलवस्तुमा समेत चलिरहेको छ ।
यता पोखरा बाहिनीका डीआईजी कालिदास धौबजी र कालिका गणका गणपति धन बहादुर बनियाँलाई अवैध बालुवा चोरीको आरोप लागेको छ । गणको ट्रक पामे लेक लगेर सयौं ट्रक बालुवा कहाँ जान्छ भन्दै पोखराको चर्चित कार्यक्रम गण्डकी छड्केले प्रश्न गरेको थियो । धनबहादुर बानियाँ गुल्मपति हुँदा राशनको पैसा खाएवापत कारबाहीमा परेका व्यक्ति हुन् । अहिले डीआईजी र एसपी मिलेर अवैध धन्दा चलाएको आरोप छ । धौबजीको बारेमा मुख्यालयले सोधपुछ गरिरहेको स्रोतको दावी छ ।