धनगढीः कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–१७ का सिके भट्टलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई बुधबार अनुसन्धानका लागि पक्राउ गरिएको कञ्चनपुर प्रहरीले बताएको छ। भट्ट माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत हुन्।
उनलाई कमेन्ट् गरेको र फेसबुकमा लेखेको आधारमा पक्राउ गरिएको बुझिएको छ।
सोमबार प्रहरीले भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुकलाई पक्राउ गरेकोे थियो। चन्द पूर्व प्रहरी हवल्दार हुन्।
उनीहरूलाई कमेन्ट् गरेको आधारमा पक्राउ गरिएको बुझिएको छ। कञ्चनपुर प्रहरीले शनिवार पत्रकार ऐश्वर्य कुँवर र पुष्कर भट्टलाई समेत पक्राउ गरेको थियो।
उनीहरूले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा प्रहरीका अपराधीक क्रियाकलापका बिरुद्ध समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएका थिए।
उनीहरूका विरुद्ध कञ्चनपुर प्रहरीले विद्युतीय अपराधमा मुद्दा दर्ता गरेको छ।