काठमाडौँ : शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि), तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खोलेको छ।
विभिन्न विषयमा गरि ८३८ जना निमावि शिक्षकको माग गरिएको आयोगले जनाएको छ। आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको जनाएको छ।
आयोगका अनुसार नेपालीमा ११७, अंग्रेजीमा १७६, गणित १२८, विज्ञान १६३, सामाजिक १२२, गणित–विज्ञान ६५, संस्कृत भाषामा ५, शुक्ल यजुर्वेद १, कम्प्युटर विज्ञानमा १ जना शिक्षक माग गरिएको छ।
न्यूनतम योग्यता पुगेका १८ वर्ष उमेर पूरा भइ ४० वर्ष ननाघेको इच्छुक उम्मेदवारबाट चैत १ गतेभित्र अनलाइन दरखास्त पेस गर्न आयोगले आग्रह गरेको छ। दरखास्त दस्तुर ७०० रुपैयाँ तोकिएको छ।
यस्तै, प्रत्येक समावेशी समूहका लागि थप ५०० रुपैयाँ बुझाउनु पर्नेछ। दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ।