धनगढी : कञ्चनपुर प्रहरीले माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चन्द्रकान्त भट्ट (सिके)लाई पक्राउ गरेपछि आइसिटी फोरम नेपाल जिल्ला समिति डडेल्धुराले खेद प्रकट गरेको छ।
आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै सिकेलाई कञ्चनपुर प्रहरीले बिना कारण गिरफ्तार गरेको भन्दै खेद प्रकट गरेको हो।
विनाकारण पार्टीका नेता कार्यकर्तालाई विगत लामो समयदेखि कञ्चनपुर प्रहरीले देखाएको दमनपूर्ण व्यवहार प्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको समेत डडेल्धुरा जिल्ला इन्चार्ज तथा संयोजक करन साउँद (किरण) द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
आइसिटी फोरम नेपााले कञ्चनपुर प्रहरीले गरेको खेदजनक क्रियकलापको भत्सर्ना गर्दै गिरफ्तार गरिएका भट्टको तत्काल रिहाइको माग समेत गरेको छ।
भीमदत्त नगरपालिका–१७ का भट्टलाई प्रहरीले कमेन्ट् गरेको र फेसबुकमा लेखेको आधारमा पक्राउ गरिएको बुझिएको छ। सोमबार प्रहरीले भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुकलाई पक्राउ गरेकोे थियो। चन्द पूर्व प्रहरी हवल्दार हुन्।
उनीहरूलाई कमेन्ट् गरेको आधारमा पक्राउ गरिएको बुझिएको छ। कञ्चनपुर प्रहरीले शनिवार पत्रकार ऐश्वर्य कुँवर र पुष्कर भट्टलाई समेत पक्राउ गरेको थियो।
उनीहरूले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा प्रहरीका अपराधीक क्रियाकलापका बिरुद्ध समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएका थिए।
उनीहरूका विरुद्ध कञ्चनपुर प्रहरीले विद्युतीय अपराधमा मुद्दा दर्ता गरेको छ।