धनगढी : कञ्चनपुरको एपीएफ स्कुल झलारीमा भर्ना खुलेको छ। आगामी बैशाखदेखि पढाइ सुरु हुने गरि पूर्ण आवासीय नेपाल एपिएफ स्कुल झलारी कञ्चनपुरमा भर्ना खुलेको हो।
आज (बुधबार) बोर्ड राखेर भर्ना स्कुलले भर्ना सम्बन्धि जानकारी गराएको हो। शिक्षाको क्षेत्रमा पछाडी परेको सुदूरपश्चिम प्रदेशमा शिक्षामा थप टेवा पुरयाउने उद्देश्यले यहाँ एपीएफ स्कुल सञ्चालनमा आउन लागेको हो।
२०८१ साल बैशाख महिनादेखि सशस्त्र प्रहरी बल, नेपाल कल्याणकारी सेवा केन्द्रद्वारा संचालित पूर्ण आवासीय नेपाल एपिएफ स्कुल झलारी कञ्चनपुरमा कक्षा ४ र ५ मा नयाँ भर्ना खुलेको स्कुल प्रशासनले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी, कञ्चनपुरको भोगाधिकारमा रहेर एपीएफ स्कुल झलारी सञ्चालन गर्न गृह मन्त्रालयले सहमति प्रदान गरेको थियो।
गत महिनाको माघ १२ गते गृहमन्त्रीस्तरको बैठकबाट उक्त गणले प्रयोग गरिरहेको भन्दा बाहेकको जग्गामा विद्यमान शिक्षा ऐन र शिक्षा नियमावली लगायत प्रचलित कानुनहरुको अधिनमा रहेर स्कुल सञ्चालन गर्न सहमति प्रदान गर्ने निर्णय भएको हो।
स्कुल सञ्चालनका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले पुस २५ गते अनुमति माग्दै गृह मन्त्रालयलाई पत्र लेखेको थियो।
र, यो पनि :
कञ्चनपुरमा एपीएफ स्कुल सञ्चालन गर्न सहमति