धनगढी : संगठनभित्र अराजकता बढ्दै गएपछि नेपाल प्रहरीले बाध्य भएर चेतावनीसहितको परिपत्र गरेको छ । सामाजिक सञ्जालमा आफ्नै संगठनविरुध्द आलोचना भएका समूहमा आवध्दता जनाएको पाइएपछि हेडक्वार्टरले सर्कुलर जारी गरेको बताइएको छ ।
सामाजिक सञ्जालमा सहभागिताबारे आफ्ना कर्मचारीको निम्ति प्रहरीले यसअघि नै सामाजिक सञ्जाल व्यवस्थित गर्ने सम्बन्धी गाइडलाइन्स २०७१ जारी गरिसकेको छ । त्यस्तै प्रहरी नियमावली २०७१, प्रहरीको मिडिया सम्बन्धी नीति २०६०, आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ को समेत बर्खिलाप हुनेगरी कर्मचारीहरु हौसिएर सामाजिक सञ्जालमा सहभागी हुने गरेको पाइएपछि कडाइको निम्ति आइजीपीको सचिवालय अस्ति सबै युनिटमा सर्कुलर जारी गर्न बाध्य भएको बुझिएको छ ।
सर्कुलरमा भनिएको छ, ‘प्रहरी कर्मचारीहरुबाट संगठनप्रति नै नकारात्मक सन्देश एवम् टिका टिप्पणी प्रवाह गर्नेगरी सञ्चालित फेसबुक,मेसेञ्जर,ट्वीटर, भाइबर, ह्वाट्सएप, टेलिग्रामलगायत विभिन्न सामाजिक सञ्जालद्वारा सञ्चालित ग्रुपहरुमा आवद्ध हुने गरेको पाइएको हुँदा तहाँ तथा मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई कुनै पनि त्यस्ता ग्रुपमा आवध्द भए तत्कालै सो ग्रुपबाट हट्न लगाउन हुनका साथै कुनैपनि त्यस्ता ग्रुपहरुमा आवध्द नहुने व्यवस्था मिलाउन हुन भनी पटक पटक भएका नीति निर्देशन एवम् परिपत्रहरु हुँदा पनि कतिपय प्रहरी कर्मचारीहरु त्यस्ता ग्रुपमा आवद्ध रहेको सन्दर्भमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
कर्मचारीहरु त्यसरी गैरकानुनी ढंगले अघि बढेको सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुख तथा अधिकृतहरुले पनि रोकथाम र सजगता नअपनाएको भन्दै आलोचना गरिएको छ । अटेर गरेर प्रचलित नियम कानुनको बर्खिलाप गरेमा सम्बन्धित प्रहरीलाई कारवाही गरिने चेतावनीसहित सर्कुलरमा लेखिएको छ, ‘स्वयम् कार्यालय प्रमुखले सुपरीवेक्षण एवम् अनुगमन गर्नुपर्नेमा सोको कार्यान्वयनको अवस्था सन्तोषजनक नपाइएको हुँदा अब उप्रान्त नियम र कानुनको अक्षरशः पालना गराउन आवश्यक व्यवस्था मिलाउनु ।’