काठमाडौं : पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल जोशीले जीबी राई जोडिएको सहकारीमा आफ्नो कुनै सरोकार नरहेको दाबी गरेका छन् ।
जीबीले रकम हिनामिना गरेको आरोपमा अनुसन्धान चलिरहेको पोखरास्थित सूर्यदर्शन सहकारीको सामान आफूले नराखेको जोशीको जिकिर छ । नेचरहब्स कम्पनीमा पहिले आफू पनि संलग्न रहेको तर जीबी राईसँगको व्यापारिक सोझेदारी तीन वर्षअघि नै छोडिसकेको दाबी जोशीले गरे । नेचरहब्सले नै आफ्नो शंखमूलस्थित घर दुई वर्षका लागि भाडामा मात्रै लिएको जोशीको भनाइ छ ।
मैले जीबी राईसँग नेचरहब्ससँगको साझेदारी २०७७ सालमै छोडेको हो । नेचहब्सले मेरो घर दुई वर्षका लागि भाडामा लिएको थियो । २०८१ मा सम्झौता सकिन् पूर्व डीआईजी जोशीले भने, राईको सहकारीमा मेरो कहिल्यै सम्बन्ध नभएकाले मैले भाडामा दिएको घरमा के ल्याएर राखे मलाई थाहा हुने कुरा होइन ।
राईले सहकारीको रकम लगानी गरेको भनिएको गोर्खा मिडिया ग्रुपबाट सञ्चालित ग्यालेक्सी टेलिभिजन पनि प्रसारण भएकै दिन आफूले छोडेको जोशीको दाबी छ । जोशीले भाडामा दिएको शंखमूलस्थित नेचरहब्सको कार्यालयबाट पोखरामा अनुसन्धान भइरहेको सूर्यदर्शन सहकारीसँंग सम्बन्धित उपकरण प्रहरीले बरामद गरेको थियो ।