कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जना मृत्यु भएकाे छ। मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ।
मृतकमध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुन कुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको छ।
त्यस्तै भीमदत्त नगरपालिका-१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त- ४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका-१६ कञ्चनपुरका सन्जु थापाको दुर्घटनास्थलमै मृत्यु भएको छ।
राति १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो।
दुर्घटनामा ३० जना घाइते भएको र त्यसमध्ये ९ जनालाई बुटवल रेफर गरिएको छ। अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए।