काठमाडौं : प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द पन्थीले अन्तर्राष्ट्रिय अपराध अनुसन्धान पुरस्कार पाएका छन् ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै उनलाई भारतस्थित ‘कीन इन्डिया’ पुरस्कार प्रदान गरिएको हो ।
कीन इन्डिया मानव तस्करी नियन्त्रणको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो । डीएसपी पन्थी हाल उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् ।
यसअघि मानव बेचबिखन नियन्त्रण ब्युरोमा कार्यरत रहेका बेला उत्कृष्ट अनुसन्धान गरेको भन्दै संस्थाले उनलाई पुरस्कृत गरेको हो । हाल समेत कार्यालयको वैदेशिक ठगी मुद्दा हेर्ने जिम्मा पाएका पन्थीकै अनुसन्धानले भिजिट भिसामा जान अध्यागमनकै कर्मचारीको सेटिङ हुने गरेको तथ्य फेला पारेको थियो ।
भिजिट भिसा प्रकरणमा अध्यगमनका अधिकृत नरविर खड्कासहित ट्राभल सञ्चालन गर्ने आठजना पुर्पक्षका लागि थुनामा पुगेका छन् । पन्थीलाई संस्थाले अपराध अनुसन्धान कार्यालयमै पुगेर बिहीबार प्रमाणपत्र हस्तान्तरण गरेको हो ।