धनगढीः दाङमा एक प्रहरी सहायक हवल्दारले आफ्नै श्रीमतीलाई गोली हानी हत्या गरेका छन्। सम्बन्धमा खटपट हुँदा हिजो राति साढे ८ बजे सहायक हवल्दार यामबहादुर झाँक्रीले प्रहरीमै कार्यरत श्रीमती धनमाया थापामगरलाई गोली हानी हत्या गरेका हुन्।
गोली प्रहारबाट गम्भीर घाइते भएकी धनमायाको उपचारको क्रममा ज्यान गएको थियो। सुर्खेतको पञ्चापुरी नगरपालिका–९, विद्यापुर घर भई हाल दाङको घोराहीस्थित वडा प्रहरी कार्यालयमा कार्यरत थापामगर घोराही उपमहानगरपालिका–१४, दामोदर चोकमा ड्युटीमा खटिएकी थिइन्।
नेपाल प्रहरी आवासीय माविमा दरबन्दी भई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्युठानका झाँक्रीले ड्युटीमै रहेको अवस्थामा श्रीमतीलाई गोली हानेका हुन्। भे १२ प ११५० नम्बरको पल्सर २२० मोटरसाइकलमा आएका उनी गोली प्रहार गर्ने बित्तिकै फरार भएका थिए। प्रहरी टोलीले उनलाई लमही नगरपालिका–६, अर्जुन खोलाबाट पक्राउ गरेको थियो।
उनी हाल हिरासतमा छन्। उनको साथबाट लोडेड बेरेटा नाइन एमएम पेस्तोल एक थान, त्यसमा लाग्ने म्यागेजिन एक थान र सात राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा उनीहरुबीच केही महिनायता मनमुटाव देखिएको प्रहरीले जनाएको छ। मृतक थापामगरले सम्बन्धविच्छेदको मुद्दासमेत दायर गरेको खुलेको छ। यस्तै छुट्टीमा गएका प्रहरीसँग हतियार भएको कुरा र दुरुपयोगको कुरा पनि अनुसन्धान गरिने जनाइएको छ।