धनगढीः कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत बेला प्रारम्भिक क्याम्पस कमिटी सचिव बनेको विष्णु चन्द अहिले एमाले कैलाली सचिवमा दाबी गरेका छन् । उनी पछि प्रारम्भिक क्याम्पस कमिटी अध्यक्ष समेत भए ।
क्याम्पस हुँदै अनेरास्ववियुका कैलाली जिल्ला कोषाध्यक्ष बनेका चन्दले बिहीबार एमाले कैलालीको सचिव पदमा दाबी पेश गरेका छन् ।
नेताहरूसँगको सल्लाहमा चन्दले सचिवमा इच्छा व्यक्त गरेको बताएका हुन् । तिन कार्यकाल पार्टी जिल्ला कमिटीमा बसेर काम गरेका उनी अब सशक्त र बलियो पार्टी बनाउन सचिवमा दाबी गरेको बताउँछन् ।
हिजोका दिनमा केपी ओलीकै मान्छे भनेर सुदूरपश्चिममा म र ओलीका पक्षमा लागेका हामीहरूले यहाँको नेतृत्वबाट बाइपास हुनुपरेको थियो चन्दले भने “अहिले ओलीको विरुद्धको कुनै नेता छैन त्यस कारण हिजो चेपिएका, पेलिएका हामीजस्ता कार्यकर्ताले अब अवसर पाउँछन् भन्नेमा ढुक्क छु ।”
धेरै मान्छे राजनीतिमा लागे मान्छे मन्त्री भए, माननीय भए तर जनजीविकाका सवालमा ग्रामीण क्षेत्रको नागरिकका सहयात्री हाम्रा नेता बन्न सकेनन् उनले भने, “व्यवस्था परिवर्तन भयो जनताको अवस्था परिवर्तन हुन सकेनन्, निजी स्वार्थमा नेताहरू डुबे त्यस कारण जनताका आधारभूत आवश्यक्तापनि पुरा हुन सकेनन् ।”
हाम्रा नेताहरू पार्टी बनाउनु भन्दा आफ्ना व्यक्तिगत स्वार्थमा केन्द्रित भए जसको नतिजा चुनावमा देखिसकेको छ, चन्दले भने “हामी गएपछि यो कुराको परिवर्तन गर्नुपर्छ, जे बिषय विगतमा हामीले सडकबाट उठाएका थियौँ, अब ती बिषय कार्यान्वयनका लागी हामीले जानुपर्छ भन्ने हो । मलाई विश्वास छ, मेरो विरुद्धमा कोही साथीहरू आउनुहुन्न होला, किनकि मेरो लगनशीलता, इमानदारिता र धैर्य सबैले देख्नु भाकै छ ।”