धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बाह्रकुण्डाका राहुलराम कामीको दुर्घटनामा मृत्यु भएको छ। फागुन ३ गते बस दुर्घटनामा परेर उनको मृत्यु भएको हो। उनी वैदेशिक रोजगारीमा जाने तयारीमा थिए।
२७ वर्षीय राहुलराम कामीको वैदेशिक रोजगारीमा सपना तुहिएको छ। उनको शनिबार काठमाडौंबाट मलेसियाको टिकट काटिएर उनी त्यसकै लागि बुधबार घरबाट हिँडेका थिए।
तर, काठमाडौंसम्म पनि पुग्न पाएनन्। बुधबार कपिलवस्तुको सुरही खोलामा भएको बस दुर्घटनामा उनले ज्यान गुमाए। वैदेशिक रोजगारीमा गएर परिवारको खर्च चलाउने उनको सपना थियो।
उनी यसअघि पनि वैदेशिक रोजगारीकै लागि दुबईमा थिए। दुबईमा बसेर आएका उनी डेढ वर्ष जति घरमा बसेर फेरि जान लागेका थिए। उनको घरमा आमा र श्रीमतीसहित ५ वर्षका छोरा र १ वर्षकी छोरी छन्। उनीसहित कपिलवस्तु दुर्घटनामा कञ्चनपुरका सात जनाको मृत्यु भएको छ।
जसमध्ये भीमदत्त नगरपालिकाका मात्रै ५ जना छन्। दुर्घटनामा पुनर्वास नगरपालिका–९ बिचफाँटाका एउटै परिवारका दुई जनाको मृत्यु भएको छ।