धनगढी: नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवं अनेरास्ववियुका पूर्व अध्यक्षसमेत रहेका युवा नेता ऐन महरले अब आफू पार्टी सुधार्ने अभियानमा लागेको बताएका छन्। उनले शनिबार आफू नेकपा (एमाले) पार्टी शुद्धिकरणको लागि लागेको बताएका हुन्।
उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अबको अभियान पार्टी शुद्धिकरण, त्यसको लागी संघर्ष र रुपान्तरण, नेकपा एमाले जिन्दावाद ! जनताको बहुदलिय जनवाद जिन्दावाद ! बिर शहिदहरु लालसलाम’
ऐन उनै नेता हुन्, जो एमालेभित्र विवादित र उत्तिकै लोकप्रिय पनि मानिन्छन्। स्रोतका अनुसार युवाहरुको जमादको कमान्डर मानिने ऐन एक वर्षदेखि परस्त्रीसँगको अवैध सम्बन्धलाई लिएर तनावमा थिए। त्यसकै कारण उनले कारबाहीस्वरुप पार्टीको केन्द्रिय सदस्य पदबाट पनि राजीनामा दिएको बताइन्छ।
उनको राजीनामा स्वीकृत समेत भैसकेको एमालेले जनाएको छ। ऐन एमालेको १०औँ महाधिवेशनपछि २०७८ मंसिरमा मनोनित १० प्रतिशत केन्द्रीय सदस्यमध्येका एक हुन्। अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने ऐन एमाले र माओवादी एकताका बेला (नेकपाकालमा) अनेरास्ववियुका अध्यक्ष बनेर त्यसपछि पार्टीको मूल राजनीतिमा प्रवेश गरेका थिए।
त्यसपछि उनी एमालेको केन्द्रिय सदस्य हुँदै २०७९ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट उम्मेदवार समेत बने। तर एमाले छाडेर एकीकृत समाजवादीमा गएका भानुभक्त जोशीसँग उनी झिनो मतले पराजित भएका थिए। किन राजीनामा ? यौन विचलनको आरोप लागेपछि उनले राजीनामा दिन लगाइएको बताइएको छ। एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएका महर अहिले गृहजिल्ला बझाङमै छन्।
उनका निकटस्थहरूका अनुसार अहिले पनि उनी पार्टी काममै सक्रिय छन्। गत मंसिरमा एउटा परस्त्रीसँगको अडिओ बाहिरिएपछि महरले आफ्नो आवाज नभएको जिकिर गरेका थिए। आफ्नो नाम जोडेर आएको अडिओलाई फेक भनेका उनले कानुनी उपचार खोज्ने पनि बताएका थिए। सोही अडिओका कारण अहिले यो सबै भएको बुझिएको छ।