धनगढी : नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन भोलिदेखि घोडाघोडी नगरपालिकाको सुखडमा हुँदैछ । अधिवेशनको पूर्व प्रधामन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भव्य समारोहकाबीच भोलि उद्घाटन गर्दैछन् ।
सहमतीमै नेतृत्व टुंग्याउने भन्दै एमाले कैलालीले ३ फागुनमा पदाधिकारीका आकांक्षीहरुबाट इच्छापत्र माग गरेको थियो । अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव दुई गरेर पाँच पदका लागि ५३ जनाले इच्छापत्र दर्ता गरिसकेका छन् । अध्यक्षसहितका पदाधिकारीमा सहमती खोज्न एमालेका नेताहरु छलफलमा रहेको बताइन्छ ।
जिल्ला अध्यक्षका लागि भने कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले इच्छापत्र दर्ता गराएका छन् । उनीहरुबीचमै सहमती खोज्न प्रयासमा माथिल्लो कमिटिका नेता जुटेका बताइएपनि दाबेदारहरुले भने आ–आफ्ना एजेन्डासहित अधिवेशन प्रतिनिधिहरुलाई रिझाउन शुरु गरेका छन् ।
यसैबीच, पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका अध्यक्षका दाबेदार यज्ञराज ढुंगानाले पनि पार्टीभित्र पछिल्लो समय मौलाएको व्यक्तिवाद र गुटगत प्रवृत्तिलाई हटाउन आफ्नो उम्मेदवारी भएको बताएका छन् ।
अधिवेशन आयोजना हुने सुखडमा सञ्चारकर्मीलाई आफ्ना एजेन्डाबारे बताउँदै ढुंगानाले पार्टी सञ्चालनको आन्तरिक जीवनलाई व्यवस्थित गर्न सदस्यता वितरण र नवीकरणमा कुनै भेदभाव नगर्ने, संस्थागत निर्णयका आधारमा पार्टी सञ्चालन गर्ने, जनजिविकाका समस्यालाई राजनीतिक ढंगले सामाधान गर्ने लगायतका एजेन्डा रहेको बताएका छन् ।
उनले अहिले आम मानिस र पार्टी कार्यकर्तामा व्याप्त रहेको राजनीतिप्रतीको वितिष्णालाई हटाउन पार्टीबाट तीन तहका चुनाव जितेका जनप्रतिनिधिले आफूखुसी निर्णय गर्ने प्रवृत्ति रोक्न आवश्यक रणनीति बनाउने र यसअघिको चुनावमा तीनै तहमा नराम्रो हार व्यहोर्नुपरेको कुरालाई ध्यानमा राखेर गुमेको विरासत फर्काउन पार्टीका गतिविधि केन्द्रीत गर्ने समेत बताएका छन् ।
यस्ता छन् ढुंगानाका प्रतिबद्धता
१) पार्टी सञ्चालनको आन्तरिक जीवनलाई व्यवस्थित गर्न नयाँ सदस्यता प्रदान र नवीकरणमा कुनै भेदभाव नगर्ने
२) संस्थागत निर्णयको आधारमा पार्टी सञ्चालन गर्ने
३) स्थानीय रूपमा जनताले भोग्नुपरेका जनजिविकाका समस्यालाई राजनीतिक ढंगले समाधान गर्नको लागि जिल्लामा छुट्टै संयन्त्र बनाउने
४) आम मानिस र पार्टी कार्यकर्तामा रहेको राजनीतिप्रतीको वितिष्णालाई हटाउनका लागि निर्वाचनका बेला, पार्टीको चुनाव चिन्ह र घोषणापत्रका आधारमा चुनाव जित्ने र जितिसकेपछि आफूखुसी निर्णय गर्दै हिड्ने परिपाटीको अन्त्य गरिनेछ । निर्वाचित जनप्रतिनिधिले आफूखुसी, आफू नजिकका नातागोताका व्यक्तिलाई नियुक्ति गर्दा पार्टीसँगको समन्वय र पार्टीको सिफारिसका आधार गर्ने परिपाटीको विकास गर्नेछौं ।
५) तीनै तहको निर्वाचनमा पार्टीले नराम्रो हार व्यहोर्नुपरेको छ । गुमेको विरासतलाई थप उपलब्धिका साथ हाँसिल गर्नेगरि पार्टीका गतिविधिलाई अघि बढाउनेछौँ । यसले गर्दा पार्टीले अघि सारेको मिसन ८४ लाई सफलताको बिन्दुमा पुगाउने सम्भव हुनेछ ।