धनगढी : नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन भोलिदेखि घोडाघोडी नगरपालिकाको सुखडमा हुँदैछ । अधिवेशनको पूर्व प्रधामन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भव्य समारोहकाबीच भोलि उद्घाटन गर्दैछन् ।
सहमतीमै नेतृत्व टुंग्याउने भन्दै एमाले कैलालीले ३ फागुनमा पदाधिकारीका आकांक्षीहरुबाट इच्छापत्र माग गरेको थियो । अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव दुई गरेर पाँच पदका लागि ५३ जनाले इच्छापत्र दर्ता गरिसकेका छन् । अध्यक्षसहितका पदाधिकारीमा सहमती खोज्न एमालेका नेताहरु छलफलमा रहेको बताइन्छ ।
जिल्ला अध्यक्षका लागि भने कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले इच्छापत्र दर्ता गराएका छन् । उनीहरुबीचमै सहमती खोज्न प्रयासमा माथिल्लो कमिटिका नेता जुटेका बताइएपनि दाबेदारहरुले भने आ–आफ्ना एजेन्डासहित अधिवेशन प्रतिनिधिहरुलाई रिझाउन शुरु गरेका छन् ।
जिल्ला अध्यक्षका लागि इच्छापत्र दर्ता गराएका अहिलेका सविच डेजी पाण्डेले एमालेलाई दरिलो शक्ति बनाउन आफू अगाडि सरेको बताएका छन् । उनले एमालेलाई जनताको बीचमा दरिलो शक्ति बनाउने शक्ति र समर्पण भएका कारण पार्टीका नेता, कार्यकर्ता र प्रतिनिधिले अघि बढ्न सुझाव दिएअनुसार नै उम्मेदवारी दिइरहेको बताए ।
अहिलेका आफ्ना समकक्षीका बीचमा पार्टीलाई हाक्ने र आवश्यकताअनुसार समय दिनसक्ने नेता भएको बताउँदै उनले पार्टीका नीति, विचार र कार्यक्रम बोक्न सक्छ भन्ने सबैमा विश्वास भएकाले त्यसलाई पूरा गरि छाड्ने उनको भनाई थियो ।
‘पाण्डे पार्टीको नेतृत्वमा पुगेमा नेता, कार्यकर्ताको विश्वास टुट्न नदिने समेत बताउँछन् । नेकपा एमालेलाई जनताको बीचमा दरिलो शक्ति बनाउने शक्ति, समर्पण र शक्ति भएको कार्यकर्तालाई नेता बनाउनुपर्छ भन्ने कुरा सबैको छ,’ पाण्डेले भने, ‘पार्टीको नीति, विचार कार्यक्रम लागु गर्न सक्ने, बोक्न सक्छ भन्ने आम विश्वास छ त्यहीलाई पुरा गर्न उम्मेदवार बन्दैछु ।’