धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाका मेयर खडकबहादुर रावतले नगरले भाडा तिर्ने सरकारी कार्यालयलाई श्रीमतीको आवास बनाएका छन्।
नगरपालिकाले सामानहरूको तापमान–नियन्त्रण तथा तिनीहरूको गुणस्तर सुनिश्चित गर्न भाडामा लिएको घरलाई निजी आवास बनाएको पाइएको हो।
नगरपालिकाले मासिक भाडा तिरिरहेको उक्त घरमा मेयर रावतले स्थायी रुपमा श्रीमतिसहित परिवारका सदस्य ल्याएर राखेका छन्।
२०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा रावत निर्वाचित भएका थिए। त्यसपछि नगर प्रमुख रावतले धनगढीमा बस्दै आएकी कान्छी श्रीमतीलाई घोडाघोडी ल्याउन नगरपालिकाको कोल्ड चेन आवासको प्रयोग गरेको पाइएको हो।
उनले आफू विजयी भए लगत्तै २०७९ जेठको दोस्रो साता नै कान्छी श्रीमतीलाई घोडाघोडी ल्याएका थिए। नगरप्रमुख रावत आजका मितिसम्म पनि कान्छी श्रीमतीसमेत भाडाको घरमा बस्दै आएका छन्।
तर, नगरप्रमुख परिवारसहित बस्दै आएको उक्त घरभाडा भने, घोडाघोडी नगरपालिकाले तिर्दै आएको छ। मेयरले सरकारी आवास प्रयोग गर्ने कार्यलाई स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०७९ ले निषेध गरेको छ।
ऐनमा स्थानीय तहका जनप्रतिनिधिलाई आवास सुविधा प्रदान गरिएको छैन्। अझ स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले प्राप्त गरेका सुविधाको विवरण तीन/तीन महिनाको अन्तरालमा सम्बन्धित स्थानीय तहले नै सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।
कोल्ड चेन ताजा कृषि उत्पादन, समुन्द्री खाना, फ्रोजन फूड, फोटोग्राफिक फिल्म, केमिकल र औषधि जस्ता सामानहरूको तापमान-नियन्त्रण तथा त्यस्ता वस्तुको गुणस्तर कायम गर्न प्रयोग गरिन्छ।
कैलालीको घोडाघोडी नगरपालिकाले घोडाघोडी–१० मा औषधि तथा भ्याक्सिन वस्तुहरूको अखण्डता र गुणस्तरको संरक्षण गर्ने उद्देश्यले स्थानीय भीष्म बहादुर बमको घरको चौथो तला भाडामा लिएको छ।
गएको २१ महिना देखि मासिक १३ हजार पाँच सय रुपैयाँका दरले नगरपालिकाले आफूलाई भाडा तिर्दै आइरहेको घरधनी बमले बताए।
सम्झौता पत्रमा नगरपालिकाले कोल्ड चेन कार्य परियोजनाका लागी लेखिएको भएपनि उक्त घर भाडामा लिए देखिनै नगरप्रमुख रावतको परिवार बस्दै आएको घरधनी बमले बताए।
यस सम्बन्धमा घोडाघोडी नगरपालिका प्रमुख रावतलाई बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन्। उनकी श्रीमती यमुनाले भने आफूले भाडा नतिर्ने बताइन।
‘यस विषयमा मेयरलाई नै सोध्नु होला, कताबाट तिर्छन्,’ उनले ठाडो जवाफ दिइन्।
उता उपप्रमुख गुलिया कुमारी चौधरीले भने नगरप्रमुख उक्त कोल्ड चेनमा नबस्ने भन्दै बचाउ गरिन्।
‘उक्त हल्ला झुटो हल्ला हो। प्रमुख, उपप्रमुख जस्तो व्यक्तिले कहाँ त्यस्तो गर्नुहुन्छ,`उनले भनिन्।
यस विषयमा हामीले घोडाघोडी नगरपालिकाका निमित्त कार्यालय प्रमुख खगेन्द्र बहादुर सिंहसँग कुरा गर्दा उनले आफूलाई यस विषयमा केही थाहा नभएको बताउँदै तर्किए।