धनगढी : आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस । आजकै तिथि पारेर बोलाइएको बझाङको सुनकुडा माध्यामिक विद्यालयको अभिभावक भेलामा गजबको रमाइलो भएछ ।
विद्यालय व्यवस्थापन समिति गठन गर्न बोलाइएको अभिभावक भेलामा रोचक कुरा त यो छ कि ? त्यहाँ अभिभावक भन्दाबढी सुरक्षाकर्मी देखीए ।
सत्तापक्षका जनप्रतिनिधीहरुलाई सुरक्षा दिन बोलाइएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी मल्ल र प्रवक्ता हरिचन्द्र जोशीलाई दुई घेरामा सुरक्षा दिईरहेका थिए । उक्त तस्बीर अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ भने विभिन्न टिकाटिप्पणीहरु आइहरेका छन् ।
तर त्यो तस्बीर भन्दा त्यहाँ भएको आज दिउँसोको दृश्य (घटनाक्रम) साच्चिकै रोचक छन् ।
विद्यालयमा बोलाइएको अभिभावक भेलामा मुख्य विवाद अध्यक्षता कसको रहने भन्ने बिषयमा सुरु हुन्छ । एकबर्ष अगाडी नै विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएपछि समिति बिहिन रहेको विद्यालयमा अध्यक्षता कसको रहने भन्ने एकीन थिएन् ।
त्यहाँ भेला भएका अभिभावकहरुले जयदेव विकको अध्यक्षता भेला सुरु गर्न भने । उनि शिक्षक अभिभावक संघका अध्यक्ष हुन ।
तर सत्तापक्षका जनप्रतिनिधी र नेताहरुले उनको अध्यक्षतामा भेला सुरु गर्न मानेन् । उनिहरु पालिका उपाध्यक्ष मल्लको अध्यक्षतामा भेला सुरु गर्न चाहान्थे । तर अन्य अभिभावहरुले उपाध्यक्षको अध्यक्षता नियमसंगत नहुने भन्दै अस्विकार गरे ।
त्यसपछि भयो खुल्ला राजनीति । त्यहाँ आएका सबै अभिभावक र अतिथिहरु दुई समुहमा विभाजन भए ।
एक पालिका प्रवक्ता हरिचन्द्र जोशी समुह र अर्को पालिकामा प्रमुख प्रतिपक्ष जस्तै देखीएका माओवादी नेता रमेश अधिकारी समुह ।
छुट्टाछुटै समुहमा विभाजन भएपछि मैदानको एक छेउमा जोशी समुहको अभिभावक भेला सुरु भयो भने अधिकारी समुहको भेला अर्को ठाउँमा सुरु भयो ।
जोशी समुहको अभिभावक भेलामा पालिका उपाध्यक्ष मल्लको अध्यक्षतामा सञ्चालन भयो । उनिहरुले सामान्य छलफल गर्दै भेला स्थगित भएको जानकारी गराएर टुङ्गाए ।
उता अधिकारी समुहको अभिभावक भेलामा भने विद्यालय व्यवस्थापन समिति भन्दा छुट्टै बिषयले प्रवेश पायो । त्यहाँ पुष्पान्जली सहकारी हिनामिनाको बिषयमा चाकाचर्की नै भयो । उनिहरुको भेलामा झडपको स्थिती सिर्जना भएपछि सुरक्षाकर्मीहरुले भिड नियन्त्रण गरे ।
दुवै समुहको भेला सक्किएपछि फागुन १२ गतेसम्म निरन्तर छलफल गर्ने र विद्यालय व्यवस्थापन समिति गठन गर्ने भन्दै सत्तापक्षका नेताहरु लागिरहेका छन् ।