काठमाडौं – विराटनगर महानगरपालिकामा धमाधम उम्मेदवारी फिर्ता गर्न थालेको छ । विराटनगर महामगरको प्रमुख पदमा उम्मेदवारी दिएका ३ जनाले आफ्नो मनोनयन फिर्ता गरेका हुन् ।
यसरी फिर्ता गर्नेहरूमा राष्ट्रिय जनमोर्चाका टंकप्रसाद गौतम, माओवादीकी नेतृ शारदा मैनाली र नेपाल परिवार दलका महेश निरौला रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुख पदका २ जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
उनीहरुमा स्वतन्त्र उम्मेदवार उद्धवप्रसाद कोइराला र नेपाल परिवार दलका दीपक पोखरेल रहेका छन् । प्रमुख र उपप्रमुख ५ जनासहित २३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ । यसैबीच उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएकी माओवादी नेतृ नमिता न्यौपानेले आफ्नो उम्मेदवारी कायम रहेको बताएकी छन् । यस्तै प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका नेता उमेश यादवले पनि उम्मेदवारी कायमै राखेका छन् ।
गठबन्धन दलहरुबीच अन्तिम समयमा वडाको भागबण्डा गराउन पहल गरेको भएपनि सार्थक नभएको नेताहरुले बताएका छन् । काँग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एसका कुनैपनि वडाध्यक्षका उम्मेदवारले आफ्नो मनोनयन फिर्ता नलिएका हुन् । जसको कारण प्रमुख र उपप्रमुखमा गठबन्धन गरेको दलहरु अब वडामा भने छुट्टाछुट्टै लड्नुपर्ने भएको छ ।