धनगढी : मंगलबार बिहान धनगढी विमानस्थलमा नेकपा एमाले सचिव लेखराज भट्ट र पूर्व उपाध्यक्ष भीम रावलबीच जम्काभेट भएको छ। भट्ट केन्द्रीय समितिको बैठकमा सहभागी हुन जाने र रावल वैधनाथ कोटीहोमको लागि अछाम जाने क्रममा भेट भएको हो।
भेटका क्रममा दुई नेताहरुबीच रमाइलो गफ सुरु भयो। दुवैले एकअर्काको हालखबर घर परिवारको सन्चो बिसन्चो सोधे। रावलले भट्टलाई तपाईंको घरको महायज्ञ सकियो कि भनेर सोधे, अनि भट्टले महायज्ञ सकिएको छैन अछाम जाँदा मेरो घर पसेर प्रसाद ग्रहण गरेर जानूहोला भने।
करिब आधा घण्टा सँगै बिताएका दुई नेताहरुले खुलेर गफ गरेका थिए। गफकै क्रममा भट्टले ठट्टा गर्दै रावललाई भने, ‘कमरेड अब पार्टी बनाउन एउटा ठूलो महायज्ञ लाउनुपर्यो।’ त्यसपछि रावलले ‘म तयार नै छु तर महायज्ञमा स्वाहा स्वाहा गर्ने बाहुनले पर पर पर भनेपछि के गर्ने ? भन्दै ठट्टा गरेका थिए। त्यो सुनेर उपस्थित नेताहरुबीच हाँसो सुरु भयो ।
रावल भट्टसँगै एअरपोर्टमा पूर्व मुख्यमन्त्री एवम् एमाले पोलिट्ब्यूरो सदस्य राजेन्द्र रावल , केन्द्रीय सदस्य सहदेव बोगटी , कमला बोहरा, इन्दु कडरोया र प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँद लगायत थिए।