धनगढी : एमाले नेता महेश बस्नेतकी प्रेमिकाको रुपमा स्वयंघोषित महिला शोभा पाठकमाथि आक्रमण भएको छ । धादिङ चैनपुरकी पाठकमाथि उनकै कोठामा अज्ञात व्यक्तिहरुले एक छिनअगाडि आक्रमण गरेको बताइएको छ ।
आक्रमणबाट आफू घाइते भएको उनले प्रहरीलाई जानकारी गराएकी छन् । आक्रमणकारीहरुले मोबाइल खोसेर लगेकाले त्यसमा भएका फोटोलगायत सारा विवरण र प्रमाण नष्ट गर्ने उद्देश्य राखिएको उनले बताएकी छन् ।
खोसिएको मोबाइल अफ छ । आफूमाथि नकाव लगाएर मोटरसाइकलमा आएको युवकले मुखमा कोतरी आक्रमण गरेको जनाउँदै घाइते पाठकले बानेश्वर प्रहरीमा हुलियासहितको लिखित उजुरी हालेको र प्रहरीले सोही आधारमा उनी बस्ने बानेश्वर क्षेत्रको सिसिटिभी फुटेज हेर्दै गरेको बुझिएको छ ।
लिखितमा किटानी नगरिए पनि मौखिकरुपमा दोष भने एमाले नेता महेश बस्नेत र मेडिकल बिचौलिया दुर्गा प्रसाईंमाथि लगाइएको स्रोतले बतायो । यसबारे डिएसपी शिवराज बुढाथोकीसँग थप जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।
पहिलो विवाह धादिङ चैनपुरका छत्कुली थरकासँग गरेकी उनको त्यसबाट एक सन्तान छन् । गाउँमा जानुका भनेर चिनिने शोभा पाठकले औपचारिक रुपमा दोस्रो पटक २०७० भदौ ११ गते नेपाली सेनाको पृष्ठभूमिका शिवराम भण्डारीसँग विवाह गरेकी थिइन् । विवाह गरेको दुई वर्षपछि २०७२ असार १० गते खरी गाउँपालिका, धादिङबाट विवाह दर्ताको प्रमाणपत्र लिइन् ।