धनगढी : नेकपा एमालेमा पार्टीभित्र प्रचलित कानुन प्रतिकूल, नैतिक दृष्टिले अनुचित र अपारदर्शी आर्थिक क्रियाकलाप देखापर्न थालेको उपाध्यक्ष पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ।
पार्टी उपाध्यक्ष विष्णु पौडेलले मंगलबारबाट सुरू भएको सातौं केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेको पार्टी निर्माणसम्बन्धी अवधारणामा उक्त कुरा समेटिएको छ।
आर्थिक आचरण र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्ने विकृति हुर्किन थालेकोप्रति प्रतिवेदनमा चिन्ता व्यक्त गरिएको छ।
प्रतिवेदनमा पार्टीमा आर्थिक र नैतिक आचरणलाई कसरी स्वच्छ, पारदर्शी र कानुनसम्मत बनाउने, यी विषयमा गल्ती गर्नेहरूलाई कारबाहीको दायरामा कसरी ल्याउने भनेर छलफल हुनुपर्ने औंल्याइएको छ।
ुयस्तो प्रवृत्तिले नेता कार्यकर्ता र समग्र पार्टीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको छ। हामीले आर्थिक सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरूलाई सम्बन्धित कमिटीको छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा त्यस्तो प्रवृत्तिलाई प्रोत्साहित हुन पुगेको छ, प्रतिवेदनमा उल्लेख छ।
ुअहिले पार्टीको केन्द्रीय तहमा नीति, नेतृत्वमा कुनै मतभेद छैन। दसौं महाधिवेशनयता केन्द्रीय तहका हरेक निर्णय सहमति वा सर्वसम्मतिमा भएका छन्। त्यहाँ कसैको असहमति वा फरक मत छैन।
त्यसैगरी हामी सबै नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा दसौं राष्ट्रिय महाधिवेशनका निष्कर्ष कार्यान्वयन गर्दै अघि बढ्न प्रतिबद्ध छौं। तर, प्रदेश र स्थानीय कमिटीहरू अन्तरविरोधग्रस्त छन्, पौडेलले निष्कर्ष निकाल्दै भनेका छन्, कतिपयमा त गुटबन्दी गम्भीर विकृति देखापर्न थालेका छन्। कमिटी प्रणालीलाई बेवास्ता गर्ने र निश्चित व्यक्तिको सेटिङमा पार्टीलाई बन्धक बनाउन खोज्ने प्रवृत्ति हुर्किँदै गएको छ।
यस्तै पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय अन्तरविरोधहरूमा पार्टी केन्द्रका यो वा त्यो नेतालाई जोड्ने वा सिरानी हाल्ने प्रवृत्ति देखिन थालेको उल्लेख छ।
पौडेलले संगठनात्मक व्यवस्थापनका लागि केही प्रश्नहरू पनि अघि सारेका छन्। उनले कमिटीको आकार ठूला र भद्दा बन्न थालेको भन्दै यसलाई कसरी प्रभावकारी बनाउने भने केन्द्रीय कमिटीमा छलफल हुनुपर्ने बताएका छन्।
यस्तै कमिटीको नियमित बैठक बस्ने, बैठकमा निर्णय हुने र ती निर्णयलाई कार्यान्वयनको तहमा कसरी लैजाने भनेर पनि छलफल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
पौडेलले अघि सारेको प्रतिवेदनमा पार्टीका नेता-कार्यकर्ता जनताले उचित नठान्ने कार्यबाट जोगिनुपर्ने उल्लेख छ।
हामीलाई बुर्जुवा कार्यशैली वा जीवनशैली अपनाउने छुट छैन। हाम्रा कार्यशैली र जीवनशैली निःसन्देह सर्वहारा श्रमजीवी वर्ग पक्षधर हुनुपर्छ। हाम्रो आचरण, व्यवहार र जीवन जिउने काइदा मुलुकको संविधान, प्रचलित कानुन र सामाजिक नैतिकताको सीमाअनुकूल हुनुपर्छ। हामी जनताले उचित नठान्ने कामकारबाहीबाट जोगिनुपर्छ।
तर पार्टीभित्र प्रचलित कानुन, सामाजिक प्रबन्ध र नैतिकताका दृष्टिले अनुचित क्रियाकलाप देखापर्न थालेका छन्, प्रतिवेदनमा उल्लेख छ।