धनगढी : नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । प्राविधिक कारणले भोली बिहान ८ बजे सम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिए ।
बुधवार मतदान गर्ने गरि मंगलबार दिउँसो निर्वाचन तालिका सार्वजनिक गरिएको थियो । आज राति सम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर भोली बिहान १० बजे देखि दिउँसो २ बजेसम्म मतदान गर्ने गरि निर्वाचन तालिका सार्वजनिक गरिएको थियो । तर, अहिले उक्त निर्वाचन प्रक्रिया स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत जोराले बताए ।
आइतबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्दै सोमबार बिहानसम्म सहमति नजुटे निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिएका थिए । तर, अहिले सम्म पनि निर्वाचन प्रक्रिया सुरु भएको छैन ।
१५२ सदस्यीय जिल्ला कमिटीका लागि कैलालीका १३ वटा पालिकाबाट ५९१ जना प्रतिनिधिले मतदान गर्ने छन् । अध्यक्षमा दुर्गाप्रसाद जोशी, यज्ञराज ढुङ्गाना र डेजी पाण्डे प्रतिस्पर्धामा छन् । जोशीले उम्मेदवारी घोषणा गरिसकेका छन् ढुङ्गाना र पाण्डे पनि मत माग्न व्यस्त छन् ।