धनगढी: जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी अस्ति सरुवा भएर गणमा गए। अस्ति एसपी देवेन्द्रबहादुर पाल सरुवा भई सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, कैलालीमा गएका हुन्।
उनी गएकोमा त्यसको दोस्रो दिन (सोमबार) जिप्रका कैलालीको नयाँ प्रमुखका रुपमा एसपी पदमबहादुर बिष्ट आएका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कैलालीको कार्यालय प्रमुखको जिम्मेवारीमा आएका हुन्।
कैलाली प्रहरीको कमाण्ड सम्हाल्दा कहिल्यै विवादमा नआएका एसपी पाल रिटायर हुने लाईनमा पनि रहेको बुझिएको छ। उनले कैलालीको प्रहरी प्रमुख भएर बसेका बेला बाहिर व्यापारी, तस्करसँग खासै हिमचिम नभएका, भेटघाट न्यून भएका एसपी पाल भनेर चिनिएका थिए।
तर, सरुवा भएर गणमा जानु एक दिनअघि भने एसपी पालले एक भारतीय व्यापारीसँग भेटघाट गरेको पाइएको छ। एसपी पालले भारतको पलियास्थित आफूलाई भाजपाको नेता बताउने व्यापारी रवि गुप्तालाई भेटेका हुन्। गुप्ताले भेटको तस्बिर सोसल मिडियामा राखेर भारतीय व्यापारीको सहजताका लागि एसपी पालसँग छलफल गरेको जनाएका छन्।
यस्तै उनले महेन्द्रनगरपोष्टसँग आफू सामजसेवी भएकाले एसपीसँग चिनजान रहेको र छुट्टीको दिन घुम्न आएका बेला आफूलाई भेटेको बताएका छन्। उनको भेटको तस्बिर अहिले प्रहरीवृतमा चर्चित छ। कसै-कसैले यसलाई संकास्पद रुपमा पनि लिएका छन्। सुरक्षा निकायको जिल्ला कमान्डर रहेर राज्यको बर्दी लगाइसकेको मान्छेले सबै कुरा व्यक्तिगत हुँदैनन् भन्ने तथ्य बिर्सिंएर अर्को देशमा गएर व्यक्तिगत भेट गर्दा फौजी प्रचलनमा अन्यथा मानिन्छ।
भारतको पलियाबाट कैलालीसहित सुदूरपश्चिमका जिल्लामा लागुऔषध पनि व्यापक भित्रिने गरेको बताइन्छ।