काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाविरुद्ध अपहरण गरेर शरीर बन्धक बनाएको आरोप लागेको छ ।
गुण्डागर्दी पृष्ठभूमिका लामा र सहदेव कक्षपतिको समूहले ललितपुरको ढोलाहिटीबाट अपहरण गरेर आफूलाई सानेपामा ‘बन्धक’ बनाएको ज्ञानेन्द्र खड्काले आरोप लगाएका हुन् ।
खड्काले यसबारे प्रेस विज्ञप्ति जारी गरेका छन् । २०८० पुस २३ मा उनीहरूले ढोलाहिटी आदर्श टोलबाट अपहरण गरेर सानेपास्थित होटल ‘लन्डन हाउस’ मा लगेर ८ घण्टा बन्धक बनाएर फिरौती लिएको खड्काको आरोप छ ।
घटनाबारे पीडितले प्रहरीमा जाहेरी दिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको जाहेरी ललितपुरमा फरवार्ड गरिएको छ । अपराध अनुसन्धान कार्यालयमा दिएको जाहेरी ललितपुरमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए । खनालले भने, ‘हामी मिसिल अध्ययन र प्रारम्भिक अनुसन्धानको क्रममा छौँ ।’
खड्काले आफूलाई बन्धक बनाएर ‘केटा लगाएर मार्दिन्छु’ भनेर गणेश समूहले भनेको दाबी सहित माघ २८ मा उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका हुन् । आफूसँग आरोपित समूहले २५ लाख फिरौती लिएको उनले दाबी गरेका छन् ।